एनआरएनए अब ८०औं मुलुकमा, २८औं शाखा खुल्यो माल्टामा |
माल्टा । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले अब ८०औं मुलुकमा आफ्नो उपस्थिति जनाएको छ । उक्त संस्थाले हालै आफ्नो ८०औं शाखा यूरोपको माल्टामा पनि विस्तार गरेको हो । हिजो मंगलवार माल्टाका गैरआवासीय नेपालीहरूको एक भेलाले तेजबहादुर लिम्बूको अध्यक्षतामा २५ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।
यूरोपेली मुलुक माल्टामा पछिल्लो समय धेरै नेपालीहरू वैदेशिक रोजगारीका लागि आउन थालेका छन् ।
योसँगै एनआरएनएको यूरोप क्षेत्रमा मात्रै २८ वटा राष्ट्रिय समन्वय परिषद्हरू गठन भएका छन् भने एनआरएनएको ८० देशमा संगठित उपस्थिति भएको छ ।
एनआरएनए यूरोप क्षेत्रका संयोजक शिवकुमार बरुवालले यूरोपमा नयाँ राष्ट्रिय समन्वय परिषद् थपिएको जानकारी दिए । लिम्बूको अध्यक्षतामा गठित तदर्थ समितिको उपाध्यक्षमा रेमलाल खनाल, कृष्ण थापा चयन भएका छन् भने महासचिवको जिम्मेवारी सन्देश केसीले पाएका छन् । सचिव, सहसचिव, कोषाध्यक्ष र सहकोषाध्यक्षमा क्रमशः शंकर पोखरेल, सन्दिन पोखरेल र सरिता राई चयन भएका छन् ।
महिला संयोजकमा सुष्मा राई चुनिएकी छिन् भने युवा संयोजकको जिम्मेवारी रोशन गिरीले पाएका छन् । सदस्यमा १७ जना चयन भएका छन् । सुशील अधिकारी, वासुदेव अधिकारी, राजीव दाहाल, शंकर खत्री, कुसकुमारी गुरुङ, कुलचन्द्र गौतम र महेश्वर श्रेष्ठ सदस्यमा चयन भएका छन् । त्यस्तै शंकर गुरुङ, मनिता सेढाईं, निरज ढकाल, प्रदीप काफ्ले, शिवशंकर राय, अर्बिन पौडेल, दीपक खनाल, वीरेन्द्र घिमिरे र मनिष अर्याल पनि तदर्थ समितिको सदस्यमा मनोनीत भएका छन् ।
करिब ४ हजार नेपाली रहेको अनुमान गरिएको माल्टामा एनआरएनए राष्ट्रिय समन्वय परिषद् गठनका क्रममा बेल्जियम, यूके, जर्मनीलगायतका मुलुकहरूबाट एनआरएन अभियन्ता तथा पत्रकारहरू माल्टा आइपुगेका थिए ।