कालिका पावरको नाफा ७० प्रतिशतले बढ्यो, जगेडा कोषमा सुधार |
काठमाडौं । कालिका पावर कम्पनी लिमिटेडको नाफामा ६९.८५ प्रतिशतले बढोत्तरी देखिएको छ । गत वर्ष एक करोड १९ लाख रुपैयाँ नाफा आर्जन गरेको कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २ करोड ३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
कम्पनीले विद्युत विक्री मार्फत हुने आम्दानी गत वर्षको यसै अवधिको तुलनामा ५.३४ प्रतिशतले बढेर १० करोड रुपैयाँ पुगेको छ । जसले कम्पनीको गत आवको दोस्रो त्रैमासको तुलनामा प्रतिशेयर आम्दानी जगेडा लगायतका अधिकांश सूचाङ्कहरुमा आकर्षक सुधार भएको छ ।
गत वर्षको यसै अवधिमा कम्पनीले विद्युत विक्री मार्फत ९ करोड ४९ लाख आम्दानी गरेको थियो ।
यस अवधिमा कम्पनीले ४२ करोडबाट चुक्ता पूँजी ६० करोड पुर्याएको छ । कम्पनीले १२ करोड आम सर्वसाधारण र आयोजना प्रभावित बासिन्दाका लागि ६ करोड आईपिओ जारी गरेको हो ।
यस्तै जगेडा कोषमा पनि कम्पनीले उत्कृष्ट सुधार गेको छ । गत वर्ष ५४ लाख ८० हजार ऋणात्मक रहेको कम्पनीको जगेडा कोषमा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ५१ लाख ८७ हजार रुपैयाँ सञ्चित रहेको छ । चालू आवको ६ महिना अवधिमा कम्पनीले नाफा बढाएपछि सञ्चित जगेडा नोक्सानी घटाएर धनात्मक बनाएको हो ।
कालिका पावरको विद्युत बिक्री लागत भने गत आवको पुसमा ६६ लाख ४२ हजार रहेकोमा ९५ लाख १७ हजार पुगेको छ । प्रशासकिय खर्च गत आवको यसै अवधिको तुलनामा २२ लाख ३४ हजार रुपैयाँले कटौती भएको हो ।
यस्तै गत पुसको तुलनामा चालू आवको यसै अवधिमा ह्रास खर्च एक लाख ७८ हजारले बढेपनि ब्याज खर्च भने ४१ लाख १६ हजार कम खर्च गरेको छ । खर्चमा व्यवस्थापनमा देखिएको सुधारले पनि कम्पनीको नाफामा सुधार मद्धत पुगेको हो ।
कम्पनीको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ७८ पैसा, प्रतिशेयर नेटवर्थ १०० रुपैयाँ ८६ पैसा र मूल्य आम्दानी अनुपात १४.६० गुणा बढी छ ।