प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा. सापकोटा नियुक्त
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को परराष्ट्र सल्लाहकारमा परराष्ट्र मामिलाका जानकार डा. रुपक सापकोटा नियुक्त भएका छन् । बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले सापकोटालाई नियुक्त गरेको हो ।
डा. सापकोटा हाल त्रिभुवन विश्वविद्यालयमा अन्तरराष्ट्रिय सम्बन्ध तथा कूटनीति विषयमा प्राध्यापनरत हुन् । यसअघि डा. सापकोटाले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उप–कार्यकारी निर्देशकको जिम्मेवारी निर्वाह गरेका थिए ।
डा. सापकोटा विश्व राजनीति, अन्तरराष्ट्रिय सम्बन्ध, भू–राजनीति, विदेश नीति, राष्ट्रिय सुरक्षा एवं रणनीतिक मामिलाका जानकार हुन् । उनले सन् २०१८ मा चीनको राजधानी बेइजिङस्थित रेनमिन विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा विद्यावारिधी हासिल गरेका थिए ।
हालै, प्रधानमन्त्री प्रचण्डको चीनको औपचारिक भ्रमणको उच्चस्तरीय प्रतिनिधिमण्डलमा डा. सापकोटालाई परराष्ट्रविदका रूपमा सामेल गराइएको थियो ।