ब्रोकर कमिसन र सेबोन शुल्क दुवै घटाउने धितोपत्र बोर्डको निर्णय, कति प्रतिशत घट्यो ?
काठमाडौं । नेपाल धितोपत्र बोर्डले ब्रोकर कमिसन र सेबोन शुल्क दुवै घटाएको छ। बोर्डको आज बसेको सञ्चालक समिति बैठकले किमिशन र शुल्क दुवै घटाउने निर्णय गरेको हो।
बोर्डले कमिसन र शुल्क दुबैमा १० प्रतिशतले घटाएको बताइएको छ। “ सञ्चालक समिति बैठकले ब्रोकर कमिसन र सेबोन शुल्क १०/१० प्रतिशतले घटाउने निर्णय गरेको छ” नेपाल धितोपत्र बोर्ड स्रोतले बतायो।
बजारमा लगानीकर्ताको मनोबल उकास्नको लागि कमिसन र शुल्क घटाउने निर्णय गरिएको हो। अर्कोतर्फ ब्रोकरको मात्रै शुल्क घटाउने तर सबोनले लिने शुल्क भने कहिल्यै नघटाउने अवस्थाको अन्त्य गर्दै यस पटक भने सेबोनले लिने शुल्कमा पनि १० प्रतिशत घटाइएको हो।
आउने दिनमा यस अघि जुन जुन स्ल्याबमा शुल्क लाग्ने गरेको थियो त्यसैमा १० प्रतिशत घट्ने बताइएको छ।
यसअघि नेपाल धितोपत्र बोर्डले साढे २ वर्षअघि ब्रोकर कमिसन घटाएको थियो । धितोेपत्र बोर्ड २०७७ पुस १२ गतेदेखि लागू हुने गरेर ब्रोकर कमिसन ३३% देखि ६०% सम्मले घटाएको थियो । जसअनुसार लगानीकर्ताले ५० हजार रुपैयाँसम्मको कारोबारमा ०.४०% ब्रोकर कमिसन तिर्दै आएका छन् ।
त्यस्तै, ५० हजार रुपैयाँदेखि ५ लाख रुपैयाँसम्मको कारोबारमा ०.३७% कमिसन बुझाउनुपर्छ । ५ लाख रुपैयाँभन्दा माथि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.३४% र २० लाख भन्दा माथि १ करोड रुपैयाँसम्मको कारोबारमा ०.३०% कमिसन लगानीकर्ताले तिर्दै आएका छन् ।
त्यस्तै, १ करोड भन्दामाथि जतिसुकै कारोबारमा पनि ०.२७% ब्रोकर कमिसन लाग्दै आएको छ । सरकारी वा संस्थागत ऋणपत्रको खरीद बिक्रीमा पनि ५० हजार रुपैयाँसम्म ०.१०%, ५० लाख रुपैयाँसम्ममा ०.०५% र ५० लाख माथिको कारोबारमा ०.०२% सेवा शुल्क लिन पाइने व्यवस्था छ ।