चारतारे होटलकको सङ्ख्या बढेको बढ्यै, एक दर्जन नयाँ थपिदै |
काठमाडौं । नेपालमा चार तारे स्तरको होटलको संख्या बर्षौंदेखि दुईवटा मात्रै रहेको थियो । यतिबेला ८ वटा पुगेको छ । ललितपुरको हिमालय र लाजिम्पाटको शंकर होटललाई मात्रै चारतारे स्तरको भनेर ब्रान्डिङ गरिएको भए पनि अब भने व्यवसायिक वातावरण बनेको, नेपालमा पर्यटकीय गतिविधिसँगै स्तरीय होटल बन्ने क्रममा दुई वर्षमा ६ वटा होटलले चारतारेको स्तर निर्धारण गरेको पर्यटन विभागअन्तर्गतको होटल शाखाले जानकारी दिएको छ ।
विभागका अनुसार अहिले उपत्यकामा दुईवटा तथा उपत्यका बाहिर ६ वटा थप भएका छन् । थप भएका यस्ता चारतारे होटलमा महेन्द्रनगरको होटल ओपेरा, सिमराको इच्छा, नगरकोटको मिस्टिक माउन्टेन, नेपालगन्जको कृष्णा, नेपालगन्जकै सिद्धार्थ होटल भ्यू र पोखराको होटल सरोवर प्रालि रहेको छ ।
विभागमा दर्ता प्रक्रियामा नआएका र आउने क्रममा रहेका थप होटल पनि धेरैजसो चारतारेको स्वकिृति नै माग्न आउने गरेका छन् । पछिल्लो करिब तीन दशकसम्म एउटा पनि चारतारे होटल नथपिए पनि हाल थपिएका र निर्माणको क्रममा रहेकासहित दर्जनभन्दा बढी चारतारे होटल आउने तयारीमा रहेको होटल संघ नेपालको भनाई छ । होटल संघका अनुसार चारतारे निर्माणको क्रम बढेको छ ।
चारतारे स्तर वो सोभन्दा माथिको होटलमा क्यासिनो तथा मिनी क्यासिनो र इलेक्ट्रोनिक गेमिङ सञ्चालन गर्न पाइने भएकाले पनि यस्ता होटलको माग बढेको हो । होटलभन्दा क्यासिनोको कमाइ राम्रो हुने भएकाले पनि क्यासिनोसहितको स्तरीय होटल खोल्न व्यवसायी उत्साहित भएका हुन् ।
हाल पर्यटन विभागका दर्ता भएका चारतारे स्तरका होटल ८ वटा, पाँचतारे ११ वटा छन् । दुई तारे ४३ वटा, एक तारे ३३ वटा र पर्यटक स्तरका होटलको संख्या ५१० वटा रहेको छ ।