आवेदनअनुसार युनिभर्सलको आईपीओ १ सय कित्तासम्म पाउने सम्भावना |
काठमाडौं । युनिभर्सल पावर कम्पनीको साधारण शेयर (आईपीओ)मा करिब ४० करोड रुपैयाँबराबरको आवेदन परेको छ । आज सोमवार बिहान ११ बजेसम्ममा करिब ४० लाख कित्ता अर्थात् ४० करोड रुपैयाँबराबरको मात्र आवेदन परेको विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल एण्ड मर्चेण्ट बैंकिङले जानकारी दिएको छ ।
क्यापिटलका प्रमुख सुजनबाबु अधिकारीका अनुसार कम्पनीले गत शुक्रवारदेखि सर्वसाधारणका लागि ८६ लाख ७४ हजार ४९२ कित्ता आईपीओ विक्री खुला गरेको उक्त शेयरका लागि आज र भोलि मंगलवारसम्म आवेदन दिन सकिनेछ ।
आजसम्म परेका आवेदनको अवस्थाअनुसार न्यूनतम १ सय कित्तासम्म लगानीकर्ताले शेयर पाउने सम्भावना रहेको क्यापिटलले बताएको छ । ११ मेगावाटको तल्लो खारेखोला जलविद्युत् आयोजना निर्माण गरिरहेको कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीयहरूका लागि आईपीओ जारी गरिसकेको छ ।