बैंक अफ काठमाण्डूको स्वतन्त्र नाफा साढे ६६ करोड |
काठमाडौं । बैंक अफ काठमाण्डूले चालू आवको दोस्रो त्रैमाससम्ममा कुल ६६ करोड ६१ लाख रुपैयाँबराबरको स्वतन्त्र नाफा आर्जन गरेको छ । ७४ करोड १४ लाख खु्द मुनाफा कमाएको बैंकको नियामकीय समायोजनबापत ७ करोड ६२ लाख रुपैयाँ रिजर्भ राखेपछि स्वतन्त्र नाफा उक्त परिमाणमा सीमित भएको हो ।
यो नाफा अघिल्लो वर्षको सोही समयको तुलनामा करिब २० प्रतिशतले बढी हो । नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पूँजी पुर्याउन बाँकी रहेको बैंकको यो नाफा प्रतिशेयर २०.८६ रुपैयाँ बराबर हो ।
बैंकले प्रकाशन गरेको लेखापरीक्षण नगरिएको वित्तीय विवरणअनुसार उक्त अवधिमा बैंकको निक्षेप ८० अर्ब नाघ्दा कर्जा लगानी करिब ७३ अर्ब रहेको छ । कर्जा र निक्षेपको यो आकारबाट बैंकको निक्षेप र पूँजीमा कर्जाको (सीसीडी) अनुपात ७८.६५ प्रतिशत कायम भएको देखिएको छ । बैंकले संकलन गरेको उक्त निक्षेप र कर्जा अघिल्लो त्रैमासको अन्त्यभन्दा क्रमशः १ अर्ब र २ अर्ब बढी हो । बैंकले निक्षेप भन्दा कर्जा लगानी बढाएका कारण रिजर्भमा ३५ करोड थपिए पनि सीसीडी अनुपात अघिल्लो त्रैमासभन्दा बढी देखिएको छ ।
उक्त अवधिमा बैंकले कर्जाबाट ४ अर्ब ७६ करोड ब्याज संकलन गरी निक्षेपमा २ अर्ब ९८ करोड प्रदान गर्दा कुल ब्याज आम्दानी १ अर्ब ७७ करोड आर्जन गरेको छ भने शुल्क तथा कमिशनबापत २४ करोड रुपैयाँ खुद आम्दानी गरेको छ । बैंकले कर्मचारी तथा सञ्चालन खर्च गरी व्यवस्थापनतर्फ करिब ९० करोड खर्च गरेको देखाएको छ ।
बैंकको कस्ट अफ फण्ड ७।९१ रहँदा आधार ब्याजदर १०।६१ प्रतिशत पुगेको छ भने निष्क्रिय कर्जा अनुपात अघिल्लो त्रैमासभन्दा बढेर २.८० प्रतिशत कायम भएको छ ।