नेपाल उद्यमशीलता सम्मेलनको तयारी पूरा | नबिल बैंकको प्रायोजनमा ७ संस्थाले सहयोग गर्ने
काठमाडौं । नेपाल उद्योग परिसंघ, अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र विशाल मिडिया ग्रुपले संयुक्त रूपमा आयोजना गर्ने ‘नेपाल उद्यमशीलता सम्मेलन २०१९’ को सम्पूर्ण तयारी पूरा भएको छ । यही फागुन २ गते काठमाडौंमा आयोजना हुने उक्त सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको नेपाल उद्योग परिसंघले हिजो आइतवार एक कार्यक्रमको आयोजना गरी बताएको हो ।
यस सम्मेलनले मुलुकको आर्थिक समृद्धिमा विशेषतः उद्यमशीलताको विकास, नवीनतम सोच, प्रविधि र सृजनशीलताको प्रमुख भूमिका हुने र रोजगारी वृद्धिमा समेत सहयोग पुग्ने बताइएको छ ।
‘फिडरल नेपाल : अपर्टुनिटिज फर इन्भेन्टमेण्ट एण्ड ग्रोथ’ मूल नाराका साथ आयोजना हुने उक्त सम्मेलनले उद्यमशीलतालाई आर्थिक संवाहकको रूपमा पहिचान गर्दै, साना, मझौला तथा ठूला उद्योग–व्यवसाय एवम् देशभरिका नयाँ युवा उद्यमीबीचको सम्बन्ध विस्तार गर्ने, नयाँ प्रतिभा, प्रविधि, सृजनशीलताका साथै उद्यमशीलतालाई प्रवद्र्धन गर्ने र विदेशमा रहेका युवाहरूलाई स्वदेशमै उद्यम तथा व्यवसायमा लाग्न अभिप्रेरित गर्ने नीति तथा कानुनको पहिचान गर्ने बताइएको छ ।
प्रधानमन्त्रीले सम्बोधन गर्ने बताइएको उक्त सम्मेलनमा संघीय उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री तथा संघीय अर्थमन्त्रीका समेत नेपालमा औद्योगिक विकास तथा उद्यमशीलता प्रवद्र्धनका विषयमा आफ्ना विचारहरू प्रस्तुत हुनेछ । यस्तै, यस सम्मेलनमा नेपालका सातवटै प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीहरूमार्फत सम्बन्धित प्रदेशका औद्योगिक सम्भाव्यता तथा उद्ययमशीलता प्रवद्र्धनका कार्यक्रमहरू रहेको जानकारी दिइएको छ ।
सो सम्मेलनमा नेपाल सरकारका सम्बन्धित क्षेत्रका पदाधिकारीहरू, साना, मझौला तथा ठूला उद्योगहरूमा संलग्न वा संलग्न हुन चाहने उद्यमीव्यवसायी, स्वदेशी एवम् विदेशी उद्यमीहरू, नव–प्रवर्तन, नयाँ प्रविधि र उद्यमशीलताको प्रवद्र्धनमा संलग्न महिला तथा युवा उद्यमीहरू तथा नेपालका सातवटै प्रदेशका उद्यमीहरू गरी करिब ४ सय जना यस सम्मेलमा उपस्थित हुने निश्चित भइसकेको आयोजकले जनाएको छ ।
उक्त सम्मेलनको मुख्य प्रायोजन नबिल बैंक र अन्य सहयोग गर्ने संस्थाहरूमा देउराली जनता फर्मास्युटिकल्स, होङ्सी–शिवम् सिमेण्ट, शिखर इन्सुरेन्स लिमिटेड, डिस होम मिडिया नेटवर्क, चन्द्रागिरी हिल्स, शंकर ग्रुप तथा हिलटेक इण्डष्ट्रिज प्रा.लि. रहेका छन् ।