ऐन विपरीत प्रिमियममा आइपीओ जारी गर्न दिएको भन्दै लगानीकर्ताले दिए अख्तियारमा उजुरी
काठमाडौं । नेपाल धितोपत्र बोर्ड र बिमा प्राधिकरणले ऐन विपरीत प्रिमियममा आइपीओ जारी गर्न दिएको भन्दै उनीहरु बिरुद्ध लगानीकर्ता अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् ।
केशव कोइराला र तिलक कोइरालाको नेतृत्वमा लगानीकर्ताले धितोपत्र बोर्डका र बिमा प्राधिकरणका बिरुद्ध अख्तियारमा उजुरी दिएका हुन् । धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल र कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ तथा बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल र कार्यकारी निर्देशक राजुरमण पौडेल बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् ।
उनीहरुले दर्ता गरेको उजुरी पत्रमा भनिएको छ, ‘बिमा ऐन २०७९ को दफा ४५ को उपदफा ५ को प्रतिबन्धात्मक व्यवस्था विपरीत अख्तियारको दुरुपयोग गरी बिमा कम्पनीहरुलाई प्रिमियममा साधारण सेयर जारी गर्न दिएर भ्रष्टाचार गरेको हुँदा सो घटनाको छानविन गरी संलग्न दोषीहरु उपर कारबाही प्रचलित कानुन बमोजिम हदैसम्म गरिपाउन यो उजुरी दिएका छौं ।’