माथिल्लो त्रिशूली थ्रीबीको शिलान्यास | मन्त्री वर्षमान पुनले गरे शिलान्यास, २ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य
काठमाडौं । नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकमको मुख्य लगानीमा निर्माण हुन लागेको ३७ मेगावाटको माथिल्लो त्रिशूली थ्रीबी जलविद्युत आयोजनाको शिलान्यास भएको छ । उक्त आयोजनाको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले आइतबार शिलान्यास गरेका हुन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजनाको शिलान्यास गर्ने कार्यक्रम तय भएता पनि प्रधानमन्त्रीको कार्यक्रम विशेष कारणले स्थगित भएपछि मन्त्री पुनले शिलान्यास गरेका हुन् । कार्यक्रममा मन्त्री पुनले आयोजनाको निर्माण तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिएका छन् ।
कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक एवं आयोजनाको प्रवद्र्धक त्रिशूली जलविद्युत कम्पनी लिमिटेडमा अध्यक्ष कुलमान घिसिङले माथिल्लो त्रिशूली ३बी निर्धारित समयभन्दा अगाडि नै निर्माण गर्न सकिएमा मुलुकभर भरपर्दो र नियमित विद्युत आपूर्तिमा ठूलो योगदान पुग्ने बताए ।
इन्जिनियरिङ, खरिद तथा निर्माण (इपीसी) मोडेलमा आयोजना निर्माणका लागि चिनियाँ कम्पनी सिचुआन एएनएचई हाइड्रोइलेक्ट्रिक इक्जिनियरिङसँग २९ माघ २०७४ मा ३ करोड १८ लाख ४७ हजार अमेरिकी डलर र १ अर्ब ९१ करोड ४६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।
ठेक्का सम्झौताअनुसार, ठेकेदार कम्पनीले आयोजनाको सिभिल, इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकलतर्फका सम्पूर्ण संरचना र पकरणको डिजाइन, निर्माण तथा जडान गर्ने छ । घिसिङले ठेकेदार कम्पनीले हाल निर्माण कार्यका लागि आवश्यक सम्पूर्ण निर्माण उपकरण तथा सामाग्रीको परिचालन गरी मुख्य सुरुङ (३८००मिटर), विद्युत गृह, सर्ज ट्यांक लगायतका संरचनाको काम शुरु गर्ने अवस्थामा रहेको जानकारी दिए । ३ वर्ष निर्माण अवधि रहेको आयोजनाको काम २९ फागुन २०७७ भित्र सक्ने लक्ष्य तय गरी काम भइरहेको उनले बताए ।