म्याग्दीको तातोपानीमा शयनकक्ष र पोखरी निर्माण |
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ मा रहेको प्राकृतिक तातोपानीमा रू ५ लाखको लागतमा शयनकक्ष र थप पोखरी निर्माण गरिएको छ । सिङ्गा तातोपानी कुण्ड व्यवस्थापन समितिले पाहुनाको सुविधाका लागि शयनकक्ष निर्माण गरेको हो ।
शयनकक्ष र थप पोखरी निर्माणसँगै अब त्यहाँ जुनसुकै समयमा पनि स्नान गर्न सकिने, पालो कुर्नु नपर्ने समितिका सहसचिव कुमार केसीले जानकारी दिए । उनका अनुसार नवनिर्मित शयन कक्षमा एक घण्टासम्म स्नान गर्न रू. २०० शुल्क तिर्नुपर्नेछ । उक्त शयन कक्ष र अन्य पोखरी निर्माणका लागि प्रभु एयरका क्याप्टेन शोवित गौचनले रू. १ लाख, बुटवलका हीराबहादुर गौतमले रू. ५० हजार र काठमाडौंका तेजिन्द्र खड्काले रू. ५० हजार सहयोग गरेको समितिले जानकारी दिएको छ ।
रू. ३ लाखको लागतमा म्याग्दी नदीको किनारमा निर्माण भएको पोखरीमा एक पटकमा ४० देखि ५० जनासम्मले स्नान गर्न सक्नेछन् । छोटो अवधिका लागि आउने पर्यटकका लागि तातोपानीमा स्नान गर्न सकिने पोखरी बनाइएको हो । यसअघि तातोपानीमा स्नानका लागि २५० जना क्षमताको एउटा मात्र पोखरी थियो ।
जमिनबाट वीरे नूनको गन्धमा ५० डिग्री सेल्सियसमा निस्कने तातोपानी जम्मा हुने गरी बनाइएको उक्त पोखरीमा चोटपटक लागेको, सर्के–मर्केको, ग्यास्ट्रिक, गानोगोला, नशा, छालासम्बन्धी रोग निको हुने विश्वास गरिन्छ । उक्त स्थानमा तातोपानीमा स्नान गर्नका लागि देशका विभिन्न स्थानका साथै विदेशबाट समेत गरी वार्षिक झण्डै १६ हजार पर्यटक आउने गरेका छन् ।