सहयोगी विकास बैंक तीनचक्के सवारीमा लगानी गर्दै |
जनकपुर । धनुषाको जनकपुरमा केन्द्रीय कार्यालय रहेको सहयोगी विकास बैंकले सवारी साधनमा लगानी गर्ने भएको छ । बैंकले लोहिआ कम्पनीको तीन चक्के टेम्पुका लागि ऋण लगानी गर्ने भएको हो ।
बैंकले त्यसका लागि ललितपुरमा दर्ता र जनकपुरमा शाखा कार्यालय रहेको बाबा अटोमाटा ट्रेडिङ प्रा.लि.सँग सम्झौता गरेको छ । सोसम्बन्धी सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विनय रिजाल र बाबा अटोमाटा ट्रेडिङको तर्फबाट कम्पनीका सञ्चालक विशाल शाहले हस्ताक्षर गरेका हुन् ।
यो सम्झौताअनुसार अब बाबा अटोमाटा ट्रेडिङले विक्री गर्ने तीनचक्के टेम्पुलाई उक्त कम्पनीले सिफारिश गरेअनुसार बैंकले कर्जा लगानी गर्नेछ । बैंकले उक्त सवारीसाधनका लागि ६० प्रतिशत कर्जा लगानी गर्ने सम्झौतामा उल्लेख छ । साथै ऋणीले धितो राखेमा ७० प्रतिशतसम्म कर्जा प्रवाह गरिदिने बैंकले बताएको छ ।
तीन वर्षसम्मको कर्जा अवधि रहने उक्त कर्जामा बीचमा कुनै समस्या आएमा टेम्पो विक्रेता संस्था बाबा अटोमाटा ट्रेडिङले समेत सघाउनुपर्ने सम्झौतापत्रमा उल्लेख छ ।
बैंकले सेवाग्राहीको हितलाई दृष्टिगत गरेर उक्त सम्झौता गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत विनय रिजालले बताए । यो सम्झौताले आर्थिक अवस्था कमजोर भएका मेहनतीहरूले टेम्पो सेवा सञ्चालन गरी उनीहरूको आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास बैंकको छ ।
हाल यस बैंकले धनुषा, महोत्तरी र सिन्धुलीमा रहेका १२ वटा शाखा कार्यालयमार्फत उच्चस्तरीय बैंकिङ सेवा आफ्ना सेवाग्राहीलाई प्रदान गरिरहेको छ । साथै, यही माघभित्र थप २ शाखा सञ्चालनमा ल्याउने तयारीसमेत अन्तिम चरणमा पुर्याएको जानकारी बैंकले दिएको छ ।