दुर्गा प्रसाईंले टेलिभिजनको मानहानी गरे, लेनदेनको आरोप पुष्टी नगरे कानूनी उपचारमा जान्छौ׃ स्पेस फोरके
काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले स्पेस फोरके टेलिभिजनको विषयमा जथाभावी बोलेको भन्दै स्पेस व्यवस्थापन पक्ष कानूनी उपचारमा जाने भएको छ ।
स्पेस फोरकेको सञ्चालक ग्यालेक्सी मिडिया ग्रुपले मंगलवार एक विज्ञप्ति जारी गर्दै प्रसाईंले आफ्नो बोली फिर्ता नलिए वा आरोप पुष्टी नगरे कानूनी उपचारमा जाने बताएको हो ।
स्पेस फोरकेका प्रस्तोता सुमन ढुङ्गानालाई अपुष्ट कुरा पुष्टी गर्ने जिम्मेवारी दिएकोमा उनले थप प्रमाण जुटाउनुको साटो कार्यक्रमको प्रोमो बनाएर बजाउन हतार गरेको र सम्पादकीय नेतृत्वले उक्त प्रोमो नै हटाएको स्पेस फोरकेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रोमो हटाइसकेपछि आरोप पुष्टी हुने थप प्रमाण जुटाउनुको साटो ढुङ्गानाले मिडियाको काम ठोक्ने र सिध्याउने हो भन्दै थप प्रमाण नखोजी सामाजीक सञ्जालमा गाली गलौंचमा उत्रिएको टेलिभिजनको भनाइ छ ।
त्यसपछि सोही विषयलाई लिएर व्यवसायी दुर्गा प्रसाईंले असोज २२ गतेको पत्रकार सम्मेलनमा लेनदेन गरेर रोकिएको प्रोमो भन्दै दुर्गा प्रसाईंले प्रस्तुत गरेपछि टेलिभिजन व्यवस्थापन पक्षले आरोप पुष्टी गर्न चुनौति दिएको हो ।
यस्तो छ प्रेस विज्ञप्तिको पूर्ण पाठ
पछिल्लो समय हामी भ्रष्टाचार र अनियमितताविरुद्ध तथा सुशासनको पक्षमा दृढतापूर्वक उभिएको सर्वविदितै छ । हाम्रा समाचार सामग्री र प्रसारणले नै यो कुरा स्पष्ट पारिसकेको छ । सत्य तथ्यका आधारमा गलत प्रवृत्तिविरुद्ध निर्मम प्रहार गरिरहेको यस टेलिभिजनकाविरुद्ध पछिल्लो समय भइरहेको अनर्गल प्रचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । गलत र हुँदै नभएको विषयलाई लिएर टेलिभिजनबारे भ्रम उत्पन्न गर्न खोजिएकाले यसबारे स्पष्ट पार्न यो विज्ञप्ति जारी गरिएको हो ।
यहि असोज २२ गते आयोजित पत्रकार सम्मेलनमा व्यवसायी दुर्गा प्रसाईले स्पेस फोरके टेलिभिजनले लेनदेन गरी रोकेको भन्दै अनधिकृत प्रोमो सार्वजनिक गरेकोप्रति हाम्रो गम्भीर आपत्ति छ । यसैले पछिल्लो समय छर्न खोजिएको भ्रमबारे हामी स्पष्ट पार्न चाहन्छौं । उपसभामुखबारे अपूर्ण सूचना टेलिभिजनलाई प्राप्त भएपछि सम्पादकीय टोली यसको गहिरो अनुसन्धान गरी सत्यतथ्यका आधारमा प्रसारण गर्नुपर्छ भन्ने निष्कर्षमा पुग्यो र कार्यक्रम निर्माता सुमन ढुंगानालाई यसको जिम्मेवारी सुम्पियो । तर उनी प्रेसको काम ठोक्ने र सिध्याउने हो भन्ने शैलीमा प्रस्तुत हुँदै थप अनुसन्धानप्रति उदासिन देखिए । सम्पादकीय नेतृत्वले माग गरेको थप सामग्रीको बेवास्ता गर्दै जिम्मेवारी र अधिकारको दुरुपयोग गरी प्रोमो बनाएर प्रसारणसम्म गर्न भ्याए। यसै पनि सो प्रोमोमा ढुंगानाले सभामुख उच्चारण गरेर गम्भीर गल्ती गरेका थिए । गलत शब्द उच्चारण गरेको र थप अनुसन्धान नगरी प्रोमो बजाउन हतारिएकाले सम्पादकीय नेतृत्वले सो प्रोमो रोक्यो र पूनः थप अनुसन्धान गर्न निर्देशन दियो । तर उनी पत्रकारिताको मूल मर्म सत्यतथ्यको खोजी गर्ने दायित्वलाई लत्याउँदै टेलिभिजन र सम्पादकीय नेतृत्वविरुद्ध नै अनर्गल प्रचार गर्न थाले । यद्यपी संस्थाले रोकेको प्रोमो चोरी गरी र अनधिकृत ढंगले व्यक्तिगत सामाजिक सञ्जालमा पोष्ट गरिएको भेटियो । योसंगै सामाजिक सञ्जालमार्फत गालीगलौजमा उत्रिएको प्रमाण संस्थासंग सुरक्षित छ ।
सम्पादकीय नेतृत्वलाई समाचार सामग्रीमा थप कन्टेन्ट खोज्ने र त्यो पुरा नभए रोक्ने अधिकार हुन्छ । यो पत्रकारिताको विश्वव्यापी मान्यता हो । तर सम्पादकीय नेतृत्वले अपूर्ण सूचना र सामग्री भन्दै रोकेको प्रोमो दुर्गा प्रसाईंले कुन नियतले प्रस्तुत गरेका हुन ? सम्पादकीय स्वतन्त्रतामाथि धावा बोल्ने अधिकार उनलाई कसले दियो ? झुटको सहारा लिएर स्पेस फोरके टेलिभिजनप्रति गरेको मानहानीको जिम्मेवारी कसले लिन्छ ? के तपाईसँग टेलिभिजनले लेनदेन गर्यो भन्ने आरोप पुष्टि गर्ने प्रमाण छ ? हामी टेलिभिजनमै आएर सार्वजनिक रुपमै प्रमाण पेश गर्न दुर्गा प्रसाईंलाई चुनौति दिन्छौं । होइन भने यो आरोप फिर्ता लिन र अनर्गल प्रचार रोक्न सम्बन्धित सबैलाई सचेत गराउँछौ । अन्यथा कानूनी उपचारमा जान हामी बाध्य हुनेछौं ।
सरोज कोइराला
सम्पादक