दशैंका लागि आजदेखि अग्रिम टिकट बुकिङ सुरु, काउन्टरका कर्मचारीलाई परिचय पत्र र पोशाक अनिवार्य
काठमाडौं । दशैंका लागि आज अर्थात असोज २२ गतेदेखि देशभरको सार्वजनिको अग्रिम टिकट बुकिङ खुलेको छ ।
शुक्रबार यातायात मन्त्री प्रकार ज्वाला र नेपाल यातायात व्यवसायी राष्ट्रिय व्यवसायी महासंघबीच भएको छलफलमा असोज २२ गते सोमबारबाट टिकट बुकिङ खोल्ने सहमति भएको थियो । टिकट बुकिङ खुलेसँगै लामो तथा छोटो दूरीमा चल्ने सार्वजनिक यातायातको टिकट यात्रुले काट्न सक्नेछन् ।
चाडपर्वमा राजधानीबाट लाखौंको सङ्ख्यामा मानिसहरु बाहिरिने गरेका छन् । यसपालि पनि करिब १८ लाख यात्रुले काठमाडौं छोड्ने अनुमान गरिएकाे छ । अग्रिम टिकट बुकिङ खुलेसँगै देशभरका यातायात टिकट काउन्टरमा भिडमाड देखिन थालेको नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघले जनाएको छ ।
यो पटक काठमाडौं महानगरपालिकाले नयाँ बसपार्कबाट मात्रै लामो दूरीमा चल्ने सवारीको टिकट काट्न पाउने निर्णय गरेपछि यात्रु गोंगबु नै पुग्नुपर्ने भएको छ ।
यातायात व्यवसायी यस अघि लामो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडा वृद्धि नभएसम्म दशैंको लागि अग्रिम टिकट बुकिङ नखोल्ने बताएका थिए । तर, यातायात मन्त्रालयमा भएका छलफलमा यातायात व्यवसायी भाडा वृद्धिको मागबाट पछि हटेका हुन् ।
यात्रुले अग्रिम टिकट बुकिङ गर्दा बस सेवाबाट अनलाइन बुकिङ गर्न सक्नेछन् । त्यस्तै, यातायात व्यवस्था विभागले दशैंलाई लक्षित गर्दै असोज २८ गतेबाट देशभर रुट पर्मिट खुल्ला गर्ने भएको छ ।
त्यसैगरी, अनधिकृत काउन्टर, परिचय पत्र, पेशाक नभएका व्यक्तिहरुबाट टिकट बिक्री गर्ने कार्यलाई पूर्णतयाः नियन्त्रण गर्ने तयारी छ ।
बैठकले अत्यावश्यक वस्तुहरुको ढुवानी गर्ने बाहेकका ट्रेलर लगायतका ठूला सवारी साधनहरु २०८० साल असाेज २८ गतेदेखि कात्तिक ८ गतेसम्म नारायणघाटदेखि काठमाडौसम्म सञ्चालन गर्न रोक लगाउने भएको छ ।