सरकारले बझाङ भूकम्प प्रभावितलाई ५० हजार दिने, मृतक परिवारलाई २ लाख राहत
काठमाडौं । सरकारले बझाङ भूकम्पबाट मृत्यु हुने परिवारलाई दुई लाख दिने घोषणा गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बझाङ भूकम्पबाट पूर्ण क्षति भएका प्रति घर परिवारलाई तत्कालका लागि अस्थायी आवास निर्माणका लागि ५० हजार र मृतकका परिवालाई दुईलाख दिने घोषणा गरेका छन् ।
बझाङको दरमुकाम चैनपुरमा भूकम्पबाट भएको क्षति अवलोकनपश्चात प्रधानमन्त्रीले यस्तो घोषणा गरेका हुन् ।
टोलीमा प्रधानमन्त्री प्रचण्डसहित उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद, बझाङका सांसद भानुमक्त जोशी, मुख्यमन्त्री कमलबहादुर शाह, गृह सचिव, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण प्रमुखलगायत सहभागी थिए ।
भूकम्पबाट प्रभावित अन्य परिवारलाई राहतस्वरूप परिवार संख्याको आधारमा मापदण्ड बमोजिम १५ देखि २० हजार तत्काल राहत खर्च व्यवस्था गरिने प्रधानमन्त्रीले बताए ।