एभरेष्ट बैंकको वित्तीय सहजीकरणमा कजरियाले नेपालमै टायल्स र सेरामिक्स उत्पादन गर्ने
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको अगुवाइमा कजरिया रमेश टायल्स लिमिटेडमा लगानी गर्ने सम्बन्धमा सह-वित्तीयकरण अन्तर्गत सहभागी बैंकहरूबीच वित्तीय सहजीकरण गर्ने कार्य सम्पन्न भएको छ ।
अगुवा बैंकको तर्फबाट एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ तथा रमेश क्रपका तर्फबाट कम्पनीका उपाध्यक्ष रोहित गुप्ताले एक समारोहमा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सो कार्यक्रममा सह–वित्तीयकरणका अन्य सदस्य बैंकहरू नबिल बैंक, नेपाल एसबीआई बैंक र प्रभु बैंकका उच्चपदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो ।
नेपाललाई टायल्स उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ नवलपरासीमा रहेको प्लान्टबाट उत्पादन हुने टायल्सको कुल लागत चार अर्ब रुपैयाँमध्ये सह–वित्तीयकरण अन्तर्गत तीन अर्ब रुपैयाँ लगानी रहनेछ ।
विश्वको सातौं ठूलो टायल्स उत्पादन कम्पनी कजरिया सेरामिक्स भारतको संयुक्त लगानी रहेको कजरिया रमेश टायल्स लिमिटेडले नेपालमा आधुनिक उपकरणहरू प्रयोग गरी गुणस्तरीय टायल्स तथा सेरामिक्सका अन्य उत्पादनहरू अन्तराष्ट्रिय मापदण्ड बमोजिम गुणस्तरीय हुने जनाएको छ ।
मार्च २०२४ बाट शुरुवात हुने उक्त परियोजनाले देशमा हुने टायल्सको माग पूरा गरी आयात प्रतिस्थापन गर्नेमा महत्वपूर्ण योगदान गर्ने विश्वास लिइएको बैंकले जनाएको छ ।