रिगलको कैद मिनाहा गर्नुको कारण पेश गर्न सरकारलाई सर्वोच्चको आदेश
काठमाडौँ । सर्वोच्च अदालतले ज्यान मुद्दामा दोषी ठहर भएका योगराज ढकाल ‘रिगल’ को कैद मिनाहा गर्नुको कारण पेश गर्न सरकारलाई आदेश दिएको छ ।
बिहीबार न्यायाधीश मनोजकुमार शर्माको इजलासले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपषिद कार्यालयलगायतका विपक्षीलाई कैद मिनाहा गर्नुको लिखित कारण पेश गर्न आदेश दिएको हो । यस्तै, सर्वोच्चले पीडित परिवारको सुरक्षा व्यवस्था गर्न पनि आदेश दिएको छ ।
संविधान दिवसका अवसरमा मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगललाई सजाय माफी दिएका थिए । तर, आफ्नो पतिका हत्यारालाई राष्ट्रपतिले माफी दिनु संविधान विपरीत भन्दै भारती शेर्पाले सर्वोच्चमा रिट दायर गरेकी थिइन् । यता, अदालतबाट सजाय पाएका व्यक्तिलाई माफी दिइएको भन्दै राष्ट्रपति र सरकारको चर्को आलोचना भइरहेको छ । रिगलले खुँडा प्रहार गरेर नेपालगन्जका चेतन माननन्धरको हत्या गरेका थिए ।