भारतमा घट्यो ब्याजदर, रिपो दर ६.२५ कायम |

नयाँ दिल्ली । नेपालमा बैंकको ब्याजदर चर्को भयो भन्दै ब्याज दरलाई सन्तुलनमा ल्याउन उद्योगी व्यवसायीहरू आन्दोलनमा उत्रेकै समयमा भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डिया (आरबीआई) ले भने आफैंले ब्याजदर घटाएको छ ।
हिजो बिहीवार रिजर्भ बैंक अफ इण्डियाका गभर्नर शक्तिकान्त दासको अध्यक्षतामा बसेको मौद्रिक नीति समितिको बैठकले ब्याजदर घटाउने निर्णय गरेको हो । उक्त निर्णयसँगै भारतमा अब शून्य दशमलव २५ बिन्दुले ब्याजदर घट्ने भएको छ । यो निर्णयपछि रिपो दर ६.२५ कायम भएको छ ।
भारतीय केन्द्रीय बैंकको बैंकहरूलाई प्रवाह हुने ऋणको ब्याजदर (रिपो दर) घटाउने उक्त निर्णयले बैंकहरूको लागत घट्न गई सर्वसाधारणले लिने रिटेल कर्जाको ब्याज पनि कम हुनेछ । यो निर्णयले विशेष गरी मन्दीको अवस्थामा रहेको रियल स्टेट क्षेत्र पुनः चलपहल हुने आशा गरिएको छ ।
यो निर्णयले अतिरिक्त सवारी र व्यक्तिगत कर्जासमेत सस्तो हुने आँकलन गरिएको छ । त्यसैगरी, समग्र उपभोग वृद्धि हुने र त्यसबाट पूरै अर्थतन्त्रलाई थप गति दिने विश्वास भारतीय केन्द्रीय बैंकको छ । उक्त निर्णयसँगै केन्द्रीय बैंक कसिलो मौद्रिक नीतिको आफ्नो पूर्वअडानबाट समेत पछि हटेको छ । यसअघि दासका पूर्ववर्तीहरू रघुराम राजन र उर्जित पटेलले ब्याजदर घटाउन चौतर्फी दबाब परे पनि टसमस भएका थिएनन् ।
बैंक ब्याज घटाउन नसकेकै कारण नरेन्द्र मोदी नेतृत्वको सरकार र केन्द्रीय बैंकबीचको सम्बन्ध सहज बन्न सकेको थिएन । पूर्वगभर्नरको आकस्मिक राजीनामा पनि यही घटनासँग सम्बन्धित रहेको भनेर अथ्र्याउने गरिएको छ ।