अब वैदेशिक रोजगारमा रहेका नेपालीका परिवारका लागि ५ प्रतिशत शेयर आरक्षण |
काठमाडौं । नेपालमा सञ्चालनमा आउने विभिन्न ठूला पब्लिक कम्पनीहरूको प्राथमिक शेयर (आईपीओ) निष्कासनमा वैदेशिक रोजगारीमा रहेका नेपालीका परिवारका लागि ५ प्रतिशत आरक्षण गरिनुपर्ने सुझाव आएको छ । रेमिट्यान्स औपचारिक माध्यमबाट भित्र्याएर उत्पादनमूलक क्षेत्रमा उपयोग गर्नेबारे सुझाव दिन गठित कार्यदलले त्यस्तो सुझाव दिएको हो ।
कार्यदलले वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारका नेपालमा रहेका परिवारका सदस्यहरूले आवेदन दिन पाउने गरी विभिन्न कम्पनीमा ५ प्रतिशत प्राथमिक शेयर आरक्षण गर्न सुझाव दिएको हो । सर्वेक्षण अध्ययन भइसकेका परियोजनाहरूको परियोजना बैंक बनाउने र त्यसमा लगानी जुटाउन स्वेच्छिक रूपमा शेयर लगानी गर्न पाउने व्यवस्था गर्नसमेत कार्यदलले सुझाव दिएको छ ।
उक्त कार्यदलले कम खर्चिलो, विनिमयदर बढी र सहज भएकाले हुण्डीलगायतका माध्यमबाट रकम पठाउने गरेको विश्लेषण पनि गरेको छ ।
कार्यदलले एकीकृत विप्रेषण व्यवस्थापन सूचना प्रणाली र प्रवासी श्रमिक कार्ड व्यवस्था गर्न सिफारिश गरेको छ । रेमिट्यान्स पठाउनेलाई विभिन्न सेवा सुविधा दिनुपर्ने र अघिल्लो आर्थिक वर्षभन्दा १५ प्रतिशत बढी रेमिट्यास भित्र्याउने रेमिट्यान्स कम्पनीलाई अवार्ड दिन पनि सरकारलाई सुझाव दिएको छ ।
विदेशमा रहेकाहरूको योगदान रहने गरी स्थानीय तहमा विप्रेषण कोष स्थापना गर्न पनि कार्यदलले सुझाव दिएको छ ।