नेपालको अर्थतन्त्र ३.९ प्रतिशतले बढ्ने विश्व बैंकको प्रक्षेपण, आगामी वर्ष ५ प्रतिशत पुग्ने
काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.९% रहने विश्व बैंकले प्रक्षेपण गरेको छ । विश्व बैंकका अनुसार आयात प्रतिबन्धहरु हट्नु, पर्यटन क्षेत्रको बलियो पनरुत्थान र मौद्रिक नीति क्रमिकरुपमा खुकुलो हुँदै गएकाले नेपालको अर्थतन्त्रमा सुधार हुने अनुमान गरिएको छ । यता, आगामी आर्थिक वर्षमा भने अर्थतन्त्रले थप गति लिने विश्व बैंकले प्रक्षेपण गरेको छ ।
आगामी आर्थिक वर्षका लागि ५% को आर्थिक वृद्धिदर प्रक्षेपण गरिएको हो । यद्दपि, नेपालको आर्थिक परिदृश्यमा धेरै जोखिमहरु पनि समावेश रहेको विश्व बैंकले उल्लेख गरेको छ । जसमा अनिश्चित मनसुनले कृषिको विकासलाई कम गर्नसक्ने, वस्तुको मूल्यमा थप वृद्धि हुनसक्ने र भारतको खाद्यान्न निर्यात प्रतिबन्धले मुद्रास्फीति बढाउन सक्ने देखिन्छ ।
उच्च मुद्रास्फीतिका कारण नीतिगत दरहरु पनि उचाइमै रहने र आन्तरिक ऋण लागत थप बढ्नसक्ने सम्भावना देखिएको छ । यता, देशको कुल निर्यात कुल गार्हस्थ उत्पादनको ६.९% मात्र रहेकाले बाह्य प्रतिस्पर्धा कमजोर देखिएको विश्व बैंकले उल्लेख गरेको छ । जुन मध्यम आय भएका दक्षिण एशियाली देशहरुको औसत निर्यातको एक तिहाइ मात्र हो ।
रिपोर्ट अनुसार नेपालको निर्यात न्यून हुनुमा विद्यमान न्यून श्रम उत्पादकत्व र विनिमय दरको अभिमूल्यन लगायत कारक रहेका छन् । साथै, समकालीन देशहरू र मुख्य व्यापार साझेदार भारतको तुलनामा कृषि, उद्योग र सेवा तीनै क्षेत्रमा रहेको श्रम उत्पादकत्वको गिरावटबाट पनि नेपाल प्रभावित रहेको औंल्याइएको छ ।