स्टार्टअप एन्ड इनोभेसन कार्यक्रमअन्तर्गत तेस्रो ब्याचका लागि आवेदन माग
काठमाडौं। स्टार्टअप एन्ड इनोभेसन कार्यक्रम अन्र्तगत तेस्रो व्याचका लागि स्टार्टअपको आवेदन माग भएको छ।
उद्योग संगठन मोरङले नविन व्यावसायिक सोच विचार तथा अवधारणा भएका यूवाहरुलाई उद्यमशिलतामा रुपान्तरण गर्ने उद्देश्यका साथ स्टार्टअप एन्ड इनोभेशन कार्यक्रम सुरु गरेको थियो। जसअन्तर्गत तस्रो व्याचका लागि स्टार्टअपको आवेदन माग गरेको हो।
संगठनले वित्तीय एवं अन्य लगानीको पहुँचका लागि सहजीकरण तथा समन्वय गरी नयाँ व्यवसायको सिर्जना गर्न उत्प्रेरकको भूमिका निर्वाह गर्न यस कार्यक्रमको आयोजना गरेको हो। जसका लागि कातिक १५ गतेसम्म अनलाइन आवेदन दिन सकिनेछ।
नमूना कार्यक्रमका रुपमा कार्यान्वयन गरिएको कार्यक्रमको पहिलो र दोस्रो चरणका कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न भइसकेका छन्। कार्यक्रमअन्तर्गत स्टार्टअप व्यवसायलाई निःशुल्क व्यावसायिक योजना तर्जुमा, व्यावसायिक योजना अनुरुप आवश्यक पर्ने प्राविधिक बिषयहरुमा मेन्टरसिप, कोचिङ तथा परामर्श सेवा, नेटवर्क विस्तारका साथै बुट क्याम्पको आयोजना, बिजनेश क्यानभास मोडेल, बिजनेश हेल्थ चेक अप, उपभोक्तासँग साक्षात्कार गराउन हाटबजार एवं विभिन्न बिषयगत कार्यक्रमहरु आयोजना गरि परामर्श सेवा उपलब्ध गराइएको थियो।
पहिलो र दोस्रो व्याचमा गरी ३० जना स्र्टाटअपहरु ग्राजुएशन भइसकेका छन्। विगत २ वर्षमा स्टार्टअप उद्यमीहरुलाई व्यावसायिक विकासका सेवाहरु प्रदान गर्न ४ जना विजनेश कोच तथा १५ जना मेन्टरर्सहरुको क्षमता अभिबृिद्ध गरिएको छ। स्टार्टअप उद्यम व्यवसायलाई आवश्यक पर्ने पुँजीको सहजिकरणका लागी बिराटनगर एञ्जल इन्भेष्टर्स नेटवर्क स्थापना गरिएको छ।
२४ जना लगानीकर्ताहरु आवद्ध यस नेटवर्कले पुँजी आवश्यक पर्ने व्यवसायी सम्भावना उच्च भएका स्टार्टअपहरुमा लगानी गर्नेछन्। विगत वर्षको अनुभवबाट सिक्दै थप प्रभावकारीरुपमा आगामी कार्यक्रम सञ्चालन गर्न २० जना स्टार्टअप व्यवसायहरु रहने गरि तेस्रो व्याचका लागी आजैबाट प्रस्ताव आव्हान गरि कार्यक्रमलाई निरन्तरता दिइएको छ।
कार्यक्रम कार्यान्वयनका लागी प्रदेश सरकार, बिराटनगर महानगरपालिका, पूर्वाञ्चल विश्वविद्यालय, अन्तरप्रेरणा प्रालि, नेपाल युवा उद्यमी मञ्च, नेपाल चार्टर एकाउन्टेन्ट्स संघ लगायतका संस्थाहरुसंगको सहकार्य गरिएको छ। आवश्यकताका आधारमा अन्य संघ–संस्था तथा सरोकारवालाहरुसंग क्रमशः सहकार्य गर्दै कार्यक्रम सञ्चालन गरिने छ।
दश महिना अवधि रहने तेस्रो चरणको कार्यक्रममा नविन व्यावसायिक अवधारणा भएका तथा स्तरोन्नतीको सम्भावना भएका शुरुवाती अवस्थाका नविन उद्यमहरु सहभागि हुन सक्नेछन्। यो कार्यक्रमले नविन व्यवसायीक अवधारणा, स्तरोन्नती तथा अनुशरण गर्ने सम्भावना भएका, महिला उद्यमीहरु, वैदेशिक रोजगारीबाट फर्केका युवाहरुको आइडियालाई बिशेष ग्राह्यता दिईने गरि प्राथमिकता निर्धारण गरिएको छ।