विजय लघुवित्तको खुद नाफा करीव दोब्बर |
काठमाडौं । विजय लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा गत आवको दोस्रो त्रैमासको तुलनामा खुद नाफा झण्डै दोब्बर बनाएको छ । लघुवित्तले गत वर्षको यसै अवधिको तुलनामा ९५.५ प्रतिशतले धेरै अर्थात दुई करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको हो । गत आवको पुस मसान्तसम्ममा लघुवित्तको खुद नाफा एक करोड २३ लाख रुपैयाँ थियो ।
लघुवित्तले आम्दानी सूचक बढेर र खर्चका सूचकहरुमा नियन्त्रण गर्दा लघुवित्तको प्रतिशेयर आम्दानीमा समेत बढोत्तरी भएको छ । गत वर्ष दोस्रो त्रैमासमा लघुवित्तको प्रतिशेयर आम्दानी १४ रुपैयाँ रहेकोमा १० रुपैयाँ बढेर हाल २४ रुपैयाँ ८९ पैसा कायम भएको छ ।
बोनस बाँडेर दश प्रतिशतले चुक्ता पूँजी वृद्धि गरि १९ करोड ४८ लाख १० हजार रुपैयाँ रहको लघुवित्तको जगेडा कोष ६१.६३ प्रतिशतले बढेर चार करोड ७३ लाख रुपैयाँ सञ्चित हुन पुगेको छ ।
लघुवित्तले निक्षेप संकलन र कर्जा परिचालनलाई प्रथामिकतामा राखेको छ । पुस मसान्तसम्ममा लघुवित्तले ४२ करोड ३३ लाख रुपैयाँ निक्षेप संकलन र एक अर्ब ४३ करोड ६ लाख रुपैयाँ ऋण सापटी लिएर दुई अर्ब दुई करोड ५० लाख रुपैयाँ बराबरको कर्जा लगानी गरेको छ ।
गत वर्षको पुसको तुलनामा लघुविको निक्षेप संकलन ९२.५ प्रतिशतले र कर्जा परिचलन ९१.४० प्रतिशतले वृद्धि भएको छ । समीक्षा अवधिमा लघुवित्तले ७ करोड ६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत वर्षको तुलनामा दुई करोड ४० लाख रुपैयाँले धेरै हो । गत वर्ष लघुवित्तले ४ करोड ६६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
लघुवित्तमा निष्कृय कर्जा अनुपात २.६२ बाट २.४५ प्रतिशत झरेको छ । यस्तै प्रतिशेयर नेटवर्थ १२४ रुपैयाँ ३१ पैसा र मूल्य आम्दानी अनुपात २७.५२ गुणा बढी छ ।