नेपाल टेलिकमको आम्दानी ४५ अर्ब |
काठमाडौं । नेपाल टेलिकमले आर्थिक वर्ष २०७४⁄७५ मा रु. ४५ अर्ब २७ करोड बराबरको नाफा गरेको छ । आव २०७३⁄७४ मा रु. ४४ अर्ब ५९ करोड आम्दानी गरेको थियो ।
कम्पनीको खुद नाफा १३.७३ प्रतिशतले वृद्धि भई आव २०७४⁄७५ मा रु. १७ अर्ब ४८ करोड पुगेको छ भने कम्पनीको प्रतिशेयर आम्दानीमा वृद्धि भई आव २०७४⁄७५ मा ११६.५६ प्रतिशत पुगेको छ ।
नेपाल टेलिकमले सरकारी राजश्वमा उल्लेख्य योगदान गरेको छ र आगामी वर्ष पनि सो जारी रहने उल्लेख छ । कम्पनीले आव २०७४⁄७५ मा कर तथा गैरकर वापत कूल रु. २६ अर्ब ६५ करोड २० लाख सरकारी कोषमा योगदान गरेको छ ।
कम्पनीको कार्ययोजना अनुसार आय र मुनाफामा वृद्धि हुँदा सरकारी राजश्वमा स्वतः वृद्धि हुने दावी छ । कम्पनीका अनुसार गत मङ्सिरसम्म ग्राहक सङ्ख्या दुई करोड १० लाख ९८ हजार पुगेको छ । आव २०७३⁄७४ मा एक करोड ७६ लाख दुई हजार ग्राहक रहेकोमा १३.५१ प्रतिशतले वृद्धि भई २०७५ असार मसान्तसम्म एक करोड ९९ लाख ८० हजार पुगेको थियो ।
हाल टेलिघनत्व ७२।५० प्रतिशत पुगेको छ । कम्पनीले मुलुकको ७७ जिल्ला र सातै प्रदेशमा तारसहित र ताररहित सेवा तथा डाटा सेवा सञ्चालनमा ल्याएको छ ।