नागरिक लघुवित्तको घाटा ४९ लाख |
काठमाडौं । बनेपाको साँगामा केन्द्रीय कार्यालय रहेको नागरिक लघुवित्तले आर्थिक वर्ष २०७५⁄७६को दोस्रो त्रैमासम्ममा ४९ लाख ६४ हजार नोक्सानी ब्यहोरेको वित्तीय विवरण प्रकाशित गरेको छ । गत असोजसम्ममा लघुवित्तको नोक्सानी २२ लाख २७ हजार रहेको थियो ।
२०७४ साल माघ १५ गतेबाट वित्तीय कारोबार सञ्चालन गरेको नागरिक लघुवित्त व्यसायिक कारोबारले खर्च धान्न नसकेका कारण नोक्सानीमा गएको हो । ९० लाख निक्षेप संकलन र ५ करोड ८५ लाख बैंक तथा वित्ती संस्थाबाट सापटी लिएर कम्पनीले ८ करोड ८७ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।
यस अवधिमा लघुवित्तले १२ लाख २६ हजार खुद ब्याज आम्दानी गरेको छ । ४३ लाख कर्मचारी र २६ लाख अन्य सञ्चालन खर्च सहित ५१ लाख ७६ हजार सञ्चालन नोक्सानीमा पुगेको कम्पनी २ लाख १२ हजार खराब कर्जा उठाउँदा ४९ लाख नोक्सानीमा झरेको हो ।
एक करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तमा ७० प्रतिशत संस्थापक शेयर स्वामित्व रहेको छ भने ३० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्नेछ । चालू आवको पुस मसान्तसम्ममा कम्पनी ३१ लाख ५६ हजार रुपैयाँ जगेडा नोक्सानीमा छ ।
नेपाल राष्ट्र बैंकबाट ʽघʼ वर्गको लघुवित्त वित्तीय संस्थाको रुपमा इजाजत लिएको यस कम्पनी २०७४ असार २५ गते पब्लिक कम्पनीमा दर्ता भएको थियो ।लघुवित्तको कार्यक्षेत्र काभ्रेपलाञ्चोक सहित सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, नुवाकोट, गोर्खा, धादिङ, लमजुङ र तनहुँ गरि १० जिल्लामा रहेको छ ।