सेवा शुल्क खारेजी विरुद्घको मजदुर हड्ताल स्थगित, २७ गते रेवानसँग वार्ता |
काठमाडौं । रेष्टुरेन्टबाट सेवा शुल्क हटाएको विरोधमा उत्रिएका मजदुर युनियनले हड्तालका कार्यक्रम स्थगित गरेका छन्।् । श्रम विभागले होटल एशोसियनलाई सेवा शुल्क खारेज गर्न नपाइने कानुनी व्याख्यासहित पत्राचार गर्ने बताएकाले आन्दोलन स्थगित गरिएको मजदुर संगठनहरुले जानककारी दिएका छन् ।
अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुराँ मजदुर संघ, नेपाल स्वतन्त्र होटल क्यासिनो तथा रेष्टुरेन्ट मजदुर युनियन र नेपाल पर्यटन तथा होटल सम्बद्ध श्रमिक संघले संयुक्त विज्ञप्ति जारी गरी रेस्टुरेन्ट तथा बार एसोसिएसन नेपाल (रेवान) ले पनि माघ २७ गते द्विपक्षीय वार्ता गर्ने बताएको उल्लेख गरेका छन् ।
रेष्टुरेन्ट तथा बार एसोसिएसन नेपाल, रेवान (काठमाडौं, पोखरा र सौराहा) को गत सोमबार काठमाडौंमा भएको भेलाले ग्राहकहरुबाट लिइने १० प्रतिशत शुल्क हटाउने निर्णय गरेको थियो । लगत्तै मजदुरहरु विरोधमा उत्रिएका थिए ।
मंगलबारदेखि देशव्यापी हड्ताल गर्ने घोषणा गरेका मजदुर संगठन श्रम विभागले वार्ताका लागि बोलाएपछि पछि बुधबारदेखि हड्ताल गर्ने भन्दै पछि हटेका थिए । तर, उक्त वार्तामा रेवानका प्रतिनिधि थिएनन् ।
तत्कालीन माओवादी र अन्य मजदुर संगठनहरुले दबाव दिएपछि होटल व्यवसायी र मजदुर संगठनबीच अनिवार्यरुपमा ग्राहकबाट १० प्रतिशत सेवा शुल्क उठाउने निर्णय भएको थियो । सन् २००६ देखि यसरी ग्राहकबाट १० प्रतिशत अनिवार्य शुल्क लिन थालिएको थियो ।
झण्डै सात महिनाअघि होटल संघ नेपाल र मजदुरबीच ग्राहकबाट लिइने १० प्रतिशत सेवा शुल्क भागबण्डा गर्ने सहमति भएको थियो । त्यसमध्येको ७२ प्रतिशत कामदारलाई, २३ प्रतिशत प्रतिष्ठानलाई, ३ प्रतिशत तीन ठूला टे्रड युनियन संगठनलाई र २ प्रतिशत होटल संघलाई दिने सहमति थियो ।
यसले कामदारहरुलाई केही राहत दिन्थ्यो । तर, ग्राहकबाट सेवा शुल्कको नाममा अतिरिक्त १० प्रतिशतसमेत जोडेर रकम लिन थालिएको भन्दै चौतर्फी विरोध भएपछि सोमबार रेवानले उक्त शुल्क हटाएको घोषणा गरेको थियो ।
मजदुर र तीनका संगठनहरुले पाउँदै आएको रकम नपाउनेपछि होटल एशोसिएसन र टे्रड युनियनबीच मतभेद देखिएको छ । नेपाल उद्योग वाणिज्य महासंघले सेवा शुल्क खारेजीको निर्णय स्वागतयोग्य भएको जानककारी दिएको छ । सेवा शुल्क खारेजी हुँदा पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्ने उल्लेख छ ।