नेपाल प्रहरी उत्कृष्ट सीयूजी सेवाबाट सम्मानित |
काठमाडौं । नेपाल प्रहरी उत्कृष्ट कर्पोरेट युजर्स ग्रुप (सीयूजी) सेवाबाट सम्मानित भएको छ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको १५औं वार्षिकोत्सवका अवसरमा कम्पनीले नेपाल प्रहरीलाई उक्त अवार्ड प्रदान गरेर सम्मान गरेको हो ।
कम्पनीको मंगलवार आयोजित वार्षिकोत्सव समारोहका अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रहरी प्रधान कार्यालय, सञ्चार निर्देशनालयका प्रमुख डीआईजी डा. राजीव सुब्बालाई उक्त सम्मान प्रदान गरेका हुन् ।
सस्तो, सर्वसुलभ र सरल ढंगले टेलिफोन सेवाका लागि प्रहरी कार्यालयहरूमा २०६८ आश्विन १० गतेबाट कर्पोरेट युजर्स ग्रुप (सीयूजी) सञ्चालनमा ल्याइएको थियो । यो सेवा शुरू भएसँगै नेपाल प्रहरीका सकल दर्जाका प्रहरी कर्मचारीहरूमा सांगठनिक क्रियाकलाप, सस्तो शुल्कमा सूचना आदानप्रदान गर्नमा सहजता आएको छ ।
यसले गर्दा सेवामा आवद्ध प्रयोगकर्ताहरूलाई प्रत्येक महिना निःशुल्क १ सय एमबी डाटा उपलब्ध गराई इण्टरनेट सेवाको सुविधामा समेत पहुँच बढाइएको छ ।
संगठनलाई सम्मानित गरेकोमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेडलाई धन्यवाद दिँदै आगामी दिनमा नेपाल प्रहरीले यो सेवाको विस्तारलाई अझ बढी प्रभावकारी ढंगबाट निरन्तरता दिइने डीआईजी डा. राजीव सुब्बाले बताए ।