सीएमसीलाई मेलम्चीबाट आज हटाइँदै | तीन महिनाभित्रमा सुन्दरीजलसम्म पानी ल्याउने योजना तयार
काठमाडौं । मेलम्ची खानेपानी विकास बोर्डले आज मेलम्ची खाने पानी आयोजनाको ठेक्का तोड्ने भएको छ । बोर्डले सो आयोजनाको निर्माणको जिम्मा पाएको इटालियन ठेकेदार कम्पनी सीएमसीलाई ठेक्का रद्द गरिएको औपचारिक पठाउन लागेको मेलम्ची खानेपानी विकास बोर्डका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिएका हुन् ।
उनले भने, ‘मन्त्रालयमा छलफल भइरहेको छ, आज ठेक्का तोडिएको पत्र पठाउँछौं ।’ आयोजनाले ३ महिनाभित्र मेलम्चीको काम सक्ने गरी कार्ययोजना समेत तयार पारेको छ । ठेक्का सम्झौता कुनै एक पक्षले १४ दिनसम्म आयोजनाको काम नगरेमा ठेक्का स्वतः रद्द भएको पत्र पठाउन सकिने कानूनी व्यवस्था छ ।
यसअघि आयोजनाले उक्त निर्माण कम्पनीलाई काममा फर्कन १४ दिनअघि पत्र पठाउँदासमेत त्यसको जवाफ नआएपछि आयोजनाले आज ठेक्का तोड्न लागेको हो ।
प्रवक्ता पन्तका अनुसार आयोजना कसरी अघि बढाउने भन्नेसम्बन्धी कार्ययोजना तयार भइसकेको छ । उनले भने, ‘अब भ्याटबाहेक २ अर्बको काम बाँकी रहेको छ । आगामी ३ महिनाभित्र सुन्दरीजलमा पानी ल्याउने गरी कार्ययोजना तयार भएको छ ।’