नयाँ स्कोडा अक्टाभिया नेपाली बजारमा | मूल्य ७१ लाख देखि १ करोड ११ लाखसम्म
काठमाडौं । नेपालका लागि स्कोडा कारको आधिकारिक विक्रेता एमएडब्लू इण्टरप्राइजेजले नयाँ स्कोडा अक्टाभिया नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले स्कोडा अक्टोभिया ‘एम्बिसन’, ‘स्टाइल’ र ‘एल एण्ड के’ गरी तीन ट्रिम र आठ फरक इञ्जिन अप्सन तथा ट्रान्समिसनमा उक्त कार सार्वजनिक गरेको हो ।
उक्त कारको पेट्रोल भेरियन्टमा ७ स्पिड डीएसजी गियरबक्स रहेको १.८ लिटरको टीएसआई इञ्जिन रहेको र त्यसले अधिकतम १८० बीएचपी शक्ति उत्पन्न गर्ने कम्पनीले बताएको छ । कम्पनीका अनुसार पेट्रोल भेरियन्टकै ६ स्पिड डीएसजी गियरबक्सजडित १.४ लिटरको टीएसआई इञ्जिनले अधिकतम १५० बीएचपी शक्ति उत्पन्न गर्छ ।
त्यस्तै, अक्टाभिया ‘एल एण्ड के’मा ८ ओटा एयरब्याग छन् भने ‘स्टाइल’ र ‘एम्बिसन’ भर्सनमा क्रमसः ६ र चार एयरब्याग छन् । अक्टाभियाको सबै ट्रिममा एबीए (एण्टी लक ब्रेक), ईबीडी (इलेक्ट्रोनिक ब्रेक डिस्ट्रिब्युसन) र ट्रयाक्सन कन्ट्रोलजस्ता विशेषता रहेका छन् ।
नेपाली बजारमा पेट्रोल पावर्ड बेस अप्सन अक्टाभिया ‘एम्बिसन’को मूल्य ७१ लाख रुपैयाँ, टप मोडेल ‘एल एण्ड के’ भेरियन्टको मूल्य १ करोड २ लाख र डिजेल पावर्ड अक्टाभिया ‘एम्बिसन’ को मूल्य ९१ लाख रुपैयाँबाट शुरू भएर ‘एल एण्ड के’ भेरियन्टको १ करोड ११ लाख रुपैयाँ तोकिएको छ । नयाँ स्कोडा अक्टाभियामा नयाँ एलोइ ह्विल समेत रहेको छ ।
स्कोडा अक्टाभियामा नयाँ थ्रि स्पोक स्टेरिङ रहेको छ । पछाडिको स्पेस सेग्मेन्टमै ठूलो छ जसले तीन जना पेसेन्जरलाई पर्याप्त सिटिङ र लेगस्पेस उपलब्ध गराउँछ । हाल नेपालमा आएको अक्टाभिया चौथो पुस्ताको हो । यसको पहिलो पुस्ता स्कोडा लाउरा थियो जुन नेपाली सेडानप्रेमीमाझ निकै लोकप्रिय रहेको छ ।