मेयर बालेन शाह टाइम म्यागजिनको १०० उदीयमान व्यक्तिहरुको सूचीमा
काठमाडौं । अमेरिकाबाट प्रकाशन हुने ‘टाइम म्यागजिन’ ले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई सन् २०२३ को ‘टाइम हन्ड्रेड नेक्स्ट’ सूचीमा समावेश गरेको छ । ‘टाइम हन्ड्रेड नेक्स्ट’ टाइम म्यागजिनले तयार गर्ने विश्वका १०० उदीयमान व्यक्तिहरुको सूची हो ।
‘स्ट्रक्चरल इन्जिनियरिङ’ मा स्नातकोत्तर गरेका ३३ वर्षीय बालेन स्वतन्त्ररुपमा चुनाव लडेको र यथास्थितिप्रति मतदाताको आक्रोशलाई टिकटक, ट्वीटर र इन्टाग्राममार्फत आफ्नो पक्षमा पार्न सफल भएको म्यागजिनले लेखेको छ । यसले मतदातामाझ ‘बालेन इफेक्ट’ जगाएपछि सन् २०२२ को मे महिनामा भएको स्थानीय तहको चुनावमा अनुभवी राजनीतिज्ञहरु माथि ३८५ जना स्वतन्त्र उम्मेदवारले जित हासिल गर्न सफल भएको टाइम म्यागजिनका लागि आस्था राजवंशीले लेखेकी छिन् ।
सन् २०१५ को विनाशकारी भूकम्पबाट गुज्रिरहेको काठमाडौं शहरमा शाहको चुनावी घोषणाहरु सामान्य रहेता पनि अत्यन्त आवश्यक समाधानहरुमा जोड दिएको उल्लेख छ । फोहोर विसर्जन र सरसफाइ, सुरक्षित पिउने पानी, सफा सडक, र शहरी विकासको साथसाथै सांस्कृतिक सम्पदाको संरक्षणमा बालेनले जोड दिएको म्यागजिनले लेखेको छ ।
शक्तिमा आएदेखि शाहले ल्यान्डफिल साइटहरु प्रयोग गर्न अधिकारीहरुसँग सम्झौताहमा पनि हस्ताक्षर गरेका र कुहिने र नकुहिने फोहोरहरु छुट्ट्याउने र विसर्जन गर्ने योजनाहरु पनि अघि सारेको उल्लेख छ ।