बैंक अफ काठमाण्डूको २५ प्रतिशत लाभांश पारित |
काठमाडौं । बैंक अफ काठमाण्डूको २४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आव २०७४⁄७५ सम्मको सञ्चित मुनाफाबाट २०७५ असारसम्ममा कायम शेयर पूँजीको १४ प्रतिशत बोनस र ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
सञ्चालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठको अध्यक्षतामा सम्पन्न सभाले समितिको प्रतिवेदन पारित गर्दै नेपाल राष्ट्र बैंकको निर्देशानुसार नेपाल फाइनान्सिङ रिर्पाेटिङ्ग स्ट्याण्डर्ड बमोजिम तयार वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ ।
यस्तै सभाले यस्तै बैंकले सहायक कम्पनी मार्फत धितोपत्र व्यवसायी शेयर ब्रोकर सम्बन्धी कार्य गर्न बैंकको प्रबन्धपत्र संसोधन गर्ने सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गरेको छ ।
बैंकले साधारण सभा प्रयोजनको लागि बैंकले पुस ३० गते बुकक्लोज गरेकाले बैंकको लाभांश पुस २९ गते आइतबार सम्म कायम शेयरधनीहरुले मात्र पाउनेछन् ।
हाल ७ अर्ब ७ करोड २८ लाख ९६ हजार रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको बोनस पश्चात ८ अर्ब ६ करोड ३१ लाख १ हजार रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।
बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३८ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ८८ पैसा, प्रतिशेयर नेटवर्थ १८४ रुपैयाँ २९ पैसा छ ।