एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन, शव श्रद्धाञ्जलीका लागि भोलिसम्म पार्टी कार्यालयमा
को हुन सुवास नेम्वाङ?
काठमाडौं । संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन भएको छ।
बालुवाटारस्थित निवासमै हृदयघात भएपछि उनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो। साढे १ बजे हृदयघातपछि अस्पताल पुर्याइएका नेम्वाङको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु हो।
अस्पताल पुर्याएलगत्तै चिकित्सकहरुले नाडी, मुटुको धडकन र श्वासप्रश्वासको अवस्था चेक गरेका अस्पताल स्रोतले जनाएको छ। तर ती कुनै पनि नचलेको पाइएपछि अस्पतालले मृत घोषणा गरेको स्रोतले बताएको छ।
नेम्वाङको निधनको खबर पाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका शीर्ष नेताहरु अस्पताल पुगेका थिए।
नेम्वाङको शव भोलि (बुधबार) सम्म नेकपा एमालेको च्यासलस्थित पार्टी कार्यालयमा राखिने भएको छ ।
श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा लैजाने तयारी भइरहेको इलाम क्षेत्र नं. १ का सांसद् महेश बस्नेतले बताए ।
को हुन सुवास नेम्वाङ?
पूर्वसभामुख समेत रहेका नेम्वाङ २०५६ सालयता इलामबाट लगातार चुनाव जितेर सांसद रहँदै आएका थिए । उनी हाल नेकपा एमाले संसदीय दलको उपनेता समेत थिए ।
इलामबजार नजिकै सुन्तलाबारमा जन्मिएका नेम्वाङ इलाम क्याम्पसमा पढ्दा अनेरास्ववियुमा लागेर २०२९ सालमा कम्युनिस्ट राजनीतिमा आएका थिए । २०३३ सालमा राजद्रोह मुद्दामा उनी केही समय जेल परेका थिए ।
२०४८ र २०५२ सालमा राष्ट्रिय सभाको सदस्य भएका उनी मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिस्ट सरकारमा कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री भएका थिए ।
२०५६ को निर्वाचन जितेर उनी सार्वजनिक लेखा समिति सभापति बनेसँगै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला तथा पर्यटन तथा नागरिक उड्डयन मन्त्री तारिणीदत्त चटौत जोडिएको चर्चित लाउडा कान्ड छानबिन गरेर चर्चामा आएका थिए ।
उनी जनआन्दोलन २०६२–६३ सँगै पुनर्स्थापित संसदका सभामुख बनेका थिए । २०६४ र २०७० मा पनि इलामबाट चुनाव जितेर संविधानसभाको अध्यक्ष भएका थिए । चारपल्ट सभामुख बन्दा उनी सधैं सर्वसम्मत भएका थिए ।