भगवती हाइड्रोपावरको आईपीओ बाँडफाँट, ७१ लाख २२२ जनाले पाए कम्पनीको शेयर
काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आइपीओ आज सोमबार (भदौ १८ गते) बाँडफाँट भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको आफ्नै कार्यालय नारायणचौर, नक्साल काठमाडौंमा बिहान ९:३० बजे आइपीओ बाँडफाँट भएको हो । यसमा गोलाप्रथा मार्फत ७१ हजार २२२ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् ।
कम्पनीको आइपीओमा १३ लाख ९ हजार ६६ जनाले कुल १ करोड ५३ लाख ३ हजार ६५० कित्ताका लागि आवेदन दिएका थिए । जसमा २ हजार ३८९ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जनाएको छ । योग्य १३ लाख ६ हजार ६७७ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको थियो ।
यस कम्पनीले भदौ ५ गतेदेखि ८ गतेसम्म फेस भ्याल्यू १०० रुपैयाँमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ११६ रुपैयाँ दरले सर्वसाधारणका लागि ७ लाख १२ हजार २२० कित्ता सेयर निष्कासन गरेको थियो । हाल कम्पनीको जारी पुँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँ रहेको छ ।
लगानीकर्ताले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको वेबसाइट (https://www.siddharthacapital.com/check-share-allotment-ipo-fpo/) र मेरो सेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । साथै, भगवती हाइड्रोपावरको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइटबाट https://iporesult.cdsc.com.np/ पनि रिजल्ट हेर्न सकिन्छ ।
यसको १५% ले हुने ८ लाख ५८ हजार ९७ कित्ता सेयरमध्ये १०% अर्थात ८५ हजार ८१० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री भइसकेको छ । यस्तै, ५% (४२ हजार ९०५ कित्ता) सेयर म्युचुअल फन्डहरुलाई बाँडफाँट गरिएको छ । २% अर्थात १७ हजार १६२ कित्ता सेयर कर्मचारीलाई छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्रीमा ल्याइएको थियो ।
रेटिङ एजेन्सी केयर नेपालले यो आइपीओलाई केयर ट्रिपल बी माइनस रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ । केयर नेपालले २०७९ असार ६ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङ २०८१ वैशाख २२ गतेसम्म बाहल रहनेछ ।