अगष्टमा भित्रिए ६७ हजार तीन सय जना पर्यटक
काठमाडौं । सन् २०२३ को सुरुवातदेखि नै नेपालको पर्यटक आगमनमा निरन्तर वृद्धि भइरहेको छ । जनवरिदेखि अगष्टसम्म अर्थात यो आठ महिनाको अवधिमा ६ लाख एक हजार ३६३ जना पर्यटक नेपाल भित्रिएका छन् ।
अध्यागमन विभागका अनुसार सन् २०२३ को जनवरीमा ५५ हजार ७४ जना पर्यटक नेपाल भित्रिएका थिए । यस महिना सबैभन्दा बढी पर्यटक भारतबाट आएको देखिन्छ । २०२३ को जनवरीमा भारतबाट मात्रै १६ हजार ४३६ जना पर्यटक नेपाल आए ।
त्यसयता विदेशी पर्यटक आउने संख्या बढ्दै गएको तथ्याकमा देखिन्छ । जनवरी महिनाको तुलनामा फेब्रुअरी महिनामा १८ हजारभन्दा बढी संख्यामा पर्यटक नेपाल आएका थिए । यस फेब्रुअरी महिनामा ७३ हजार २५६ विदेशी पर्यटक नेपाल भित्रिएका हुन् ।
त्यस्तै, मार्च महिनामा करिब एक लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । यस महिना ९९ हजार ४२६ जना विदेशी पर्यटक नेपाल आएका छन् । मार्च पछि अप्रिल महिनामा पनि पर्यटक आगमन उत्साहजनक नै देखिएको छ । अप्रिल महिनामा ९८ हजार सात सय ७४ जना पर्यटक नेपाल भित्रिएको अध्यागमन विभागले जनाएको छ ।
यस अवधिमा पर्यटक बढी आउने मुलुकमध्ये पहिलो स्थानमा भारत रहेको छ । जहाँबाट ३१ हजार चार सय ३७ पर्यटक आएका छन् । अमेरिकाबाट आठ हजार चार सय १३ पर्यटक नेपाल आउँदा बेलायतबाट पाँच हजार चार सय नौ जना पर्यटक नेपाल आएका छन् ।
त्यस्तै, मे महिनामा ७७ हजार ७०४ जना पर्यटक नेपाल भित्रिएका थिए भने जुन महिनामा ७२ हजार २५० जना आएका थिए । जुलाई महिनामा ५७ हजार ७२२ जना पर्यटक नेपाल भित्रिएका थिए ।
अध्यागमन विभागका अनुसार जुलाइमा भन्दा अगष्टमा पर्यटक आगमनको संख्या १० हजारले बढी रहेको छ । यस महिना ६७ हजार एक सय ५३ पर्यटकले नेपाल भ्रमण गरेका छन् । अघिल्लो वर्ष सन् २०२२ को सोही अवधिमा ४१ हजार तीन सय चार पर्यटक नेपाल भित्रिएका थिए ।
यस महिना सबैभन्दा बढी भारतबाट २६ हजार छ सय ६५ जनाप र्यटक आएका छन् । यस्तै दोस्रोमा चीनबाट पाँच हजार २७ जना आएका छन् भने तेस्रोमा अमेरिकाबाट चार हजार छ सय २९ जना आएका छन् ।
त्यस्तै, यो महिना श्रीलङ्काबाट तीन हजार पाँच सय ५८, बङ्गलादेशबाट तीन हजार एक सय ९० जना, बेलायतबाट दुई हजार सात सय ११, स्पेनबाट एक हजार पाँच सय ८८, जापानबाट एक हजार पाँच सय २०, इटालीबाट एक हजार चार सय ९६ र अष्ट्रेलियाबाट एक हजार तीन सय ४७ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।