राप्रपा प्रजातान्त्रिक र राष्ट्रवादी एक भए | सबै पदमा बराबर भागबण्डा, अध्यक्षद्वयले गरेको सहमतिअनुसार अगाडि बढ्ने निर्णय
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) एक भएका छन् । आज शुक्रवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी दुवै पार्टी एक भएको घोषणा गरिएको हो । एकतापछि पार्टीको नाम ‘राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) राखिएको छ ।
एकतापछि पार्टीको नाम ‘राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) राखिएको घोषणा गरिएको छ । दुई पार्टी एक भएको घोषणा गरिए पनि पार्टीको केन्द्रीय समितिको संख्या, पदाधिकारी संख्यालगायतका विषयमा भने अझै टुंगो लागेको छैन ।
एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का सह–प्रवक्ता जनकराज पाठकले भने, ‘हामीले केन्द्रीय समिति, पदाधिकारी, कार्यसम्पादन समिति, निर्देशक समितिजस्ता विषयमा अध्यक्षद्वयले गरेको सहमति मानेर जाने निधो गरेका छौं ।’
सम्भवतः निर्देशक समितिमा अध्यक्षद्वय र वरिष्ठ नेताहरू हरिबहादुर थापा, नवराज सुवेदीलगायत रहने उनले बताए । उनका अनुसार केन्द्रीय समिति, पदाधिकारीलगायत सबै तहमा दुवै पार्टीका बराबरी संख्या रहनेगरी जिम्मेवारी दिइनेछ । उनले भने, ‘समान हैसियतको एकता हो । समान भनेपछि ५०÷५० नै हुन्छ । तर अध्यक्षद्वयको निर्णयलाई अन्तिम मानेर जाने भन्ने सहमति छ ।’