अब विराटनगरमा प्रत्येक शनिवार “मेरो देश, मेरो उत्पादन” स्याटर्डे मार्केट मोरङमा सुरू हुने
काठमाडौं । उद्योग संगठन मोरङ, महिला उद्यम समिति र नेपाली युवा उद्यमी मंच विराटनगर च्याप्टरको सहकार्यमा भदाै १६ गते देखि विराटनगरमा प्रत्येक शनिवार “मेरो देश, मेरो उत्पादन” शनिबार बजार (स्याटर्डे मार्केट) सुरूवात हुन गईरहेको छ । उद्योग संगठन मोरङको प्राङगण, तीनपैनि, विराटनगरमा विहान ८ बजे देखि दिनको १२ बजेसम्म उक्त बजार संचालन हुनेछ ।
यस क्षेत्रका घरेलु तथा साना उद्योग, युवा तथा महिला उद्यमीहरुद्धारा उत्पादित वस्तुको बजार प्रवद्र्धन, उद्यमशिलता विकासमा टेवा एवं प्रोत्साहनका साथै स्थानीय आर्थिक विकासमा सघाउ पु¥याउने उद्देश्यका साथ उक्त बजारकाे सुरू गर्न लागेकाे हाे ।
युवा तथा महिलाहरुमा निहित शिपलाई प्रयोग गरी स–साना परिणाममा घरमै वसेर उत्पादन गरेको वस्तूहरुका साथै घरेलु तथा कुटिर उद्योगका उत्पादनहरु बजारको अभाव र पहिचानको अवसरबाट वन्चित भई लोप भईरहेको अवस्थामा त्यस्ता वस्तुलाई लक्षित वर्गसम्म पु¥याई आयआर्जनको माध्यमबाट स्वरोजगारी अभिवृद्धि गर्ने अभिप्रायले SATURDAY MARKETको प्रारम्भ गरिएको छ ।
संगठनको प्राङगणमा गर्न लागिएको यस बजारमा १७ देखि २१ सम्म वटा स्टल रहनेछन् भने प्रति स्टल ३०० रूपैयाँ शुल्क तोकिएको छ । बजारमा घरायासी प्रयोजनका सामाग्रिहरु, ताजा तरकारी तथा फलफुल, मह, अचार, हस्तकलाका सामाग्रिहरु, दैनिक खाद्य वस्तुहरु, पहाडी जिल्लाका अर्गेनिक उत्पादनहरु, गार्मेन्ट तथा श्रृगारका सामाग्रि लगायतका वस्तु रहने छन् । साप्ताहिक बजारमा विराटनगर लगायत आसपासका घरेलु तथा साना उद्योग, महिला, युवा उद्यमीहरुको सहभागिता रहने छ ।