सवारीसाधनको महामेला ‘नाडा अटो शो २०२३’को तयारी धमाधम, २० अर्ब रुपैयाँको कारोबार हुने अपेक्षा
काठमाडौं । ‘नाडा अटो शो–२०२३’ आगामी भदौ २६ गतेदेखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुँदैछ । उक्त प्रदर्शनीमा करिब २० अर्ब रुपैयाँको कारोबार हुने अपेक्षा गरिएको नाडा अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष ध्रुव थापाले जानकारी दिएका छन् । कोभिड तथा प्रतिकूल आर्थिक अवस्थाका कारण ४ वर्षपछि हुन लागेको ‘नाडा अटो शो–२०२३’ मा ठूला र साना गरी १२० स्टल रहने छन् ।
प्रदर्शनीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डका सवारी साधन, पाटपुर्जा, टायर, लुब्रिकेन्ट, ग्यारेज उपकरण, ब्याट्री तथा वित्तीय संस्थाहरुको सहभागिता रहने नाडाले जानकारी दिएको छ । एक्सपोमा १६ ब्राण्डका ४ पाङ्ग्रे सवारी साधन, २२ ब्राण्डका दुई पाङ्ग्रे सवारी साधन, ७ ब्रान्डका लाइट कमर्सियल सवारी साधन, ९ वटा वित्तीय संस्था तथा ३० वटा लुब्रिकेन्ट, टायर, ब्याट्री, पाटपुर्जा एवं ग्यारेज उपकरण कम्पनीको सहभागिता रहने छ ।
सोमबार पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले ४ वर्षपछि हुन लागेको ‘नाडा अटो शो–२०२३’ मा ९९% नयाँ ब्रान्डका सवारी साधन र ब्राण्डहरु रहने जानकारी दिएका छन् । एक्सपोमा सर्वसाधारणलाई ट्राफिक नियम र सडक सुरक्षाको विषयमा सुसूचित गराउन नाडाले महानगरीय ट्राफिक प्रहरी महाशाखा, काठमाडौं सूचना कक्षसँग सहकार्य गरेको छ । एक्सपोमा महानगरीय ट्राफिक प्रहरी महाशाखाको सूचना कक्ष रहने छ ।
नाडाले अवलोकनकर्ताहरुको आगमनलाई सहज गर्न काठमाडौं मल, सैनिक कल्याणकारी भवन, बस पार्क भ्यू टावर लगायतका सार्वजनिक पार्किङ स्थलबाट स्टल बसको निःशुल्क व्यवस्था गरेको छ । ‘नाडा अटो शो–२०२३’ को अवलोकनका लागि टिकट खल्ती एपमार्फत काट्न सकिने नाडाले जानकरी गराएको छ । आज सोमबारबाट भदौ २५ गतेसम्म खल्ती एपबाट टिकट काट्दा २०% क्यासव्याकको अफर रहेको छ ।
नाडा अटो शो अवलोकनको लागि सर्वसाधारणका लागि २०० रुपैयाँ शुल्क तोकिएको छ भने विद्यार्थीको लागि १५० रुपैयाँ शुल्क तोकिएको छ । एक्सपोको शीर्ष प्रायोजक टाटा मोटर्स जेन्युन आयल रहेको छ भने व्यवस्थापन ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेसले गरेको छ ।