भिजन लुम्बिनी उर्जा कम्पनीको भदौ १९ गतेबाट आइपीओ बिक्री खुला हुने
काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनीले भदौ १९ गतेदेखि आइपीओ बिक्री गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री खुला गर्ने लागेको हो । यस हाइड्रोपावरले स्थानीयलाई जारी पुँजी १ अर्ब ९१ करोड २५ लाख रुपैयाँको १०% अर्थात १९ करोड १२ लाख २५ हजार रुपैयाँ बराबरको सेयर बिक्री गर्नेछ । यसआधारमा १ सय अंकित मूल्यमा १९ लाख १२ हजार ५ सय कित्ता सेयर स्थानीयलाई जारी हुनेछ ।
कम्पनीले यो सेयर आयोजना अति प्रभावित क्षेत्र कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकाको वडा नं १, २, ३, ४ र पोखरा महानगरपालिकाको वडा नं १९ का स्थानीय बासिन्दालाई निष्कासन गर्न लागेको हो । यता, कम्पनको सर्वसाधारणमा निष्कासन हुने सेयरमध्ये १०% अर्थात १ लाख ९१ हजार २५० कित्ता सेयरमा भने वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिन सक्नेछन् ।
यसमा स्थानीय समूहका लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम ३ लाख ८० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० कित्ता देखि अधिकतम १९ हजार १२० कित्तासम्म आवेदन दिन सक्नेछन् । यस कम्पनीको आइपीओमा असोज गतेसम्म आवेदन दिन सकिनेछ । यद्दपि, स्थानीयले भने सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा असोज १७ गतेसम्म आवेदन दिन पाउनेछन् ।
क्रेडिट रेटिङ संस्था इन्फोमेरिक्स क्रेडिट रेटिङले यस कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जानाउने ‘आइएरएन डबल बी माइनस’ प्रदान गरेको छ । स्थानीयले सेती नदी जलविद्युत आयोजना स्थल, माछापुच्छ्रे गाउँपालिका, मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालय र नेपाल फाइनान्स माछापुच्छ्रे गाउँपालिका भुजुङ्गखोला शाखाबाट आवेदन दिन सक्नेछन् ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबाट २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीले भने सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।