ब्रिक्समा साउदी अरब र इरानसहितका थप ६ राष्ट्र सदस्यका रुपमा थपिए
काठमाडौं । साउदी अरब र इरानलगायत राष्ट्रहरू ब्रिक्सको नयाँ सदस्य राष्ट्रहरूको रूपमा आबद्ध भएका छन् । दक्षिणी अफ्रिकामा भइरहेको १५औं ब्रिक्स सम्मेलनको बिहीबार अन्तिम दिन दक्षिण अफ्रिकी राष्ट्रपति सिरील राम्पोसाले थपिने राष्ट्रको उद्घोष गरेका हुन् ।
ब्रिक्स सम्मिलित राष्ट्रहरू चीन, भारत, ब्राजिल, रुस र दक्षिण अफ्रिकाले ६ अरू राष्ट्रहरू थप सदस्यको रूपमा समाहित गर्ने निर्णय तीन दिने सम्मेलनका क्रममा लिएको छ ।
यस निर्णयअनुसार अब साउदी अरेबिया, इरान, अर्जेन्टिना, इजिप्ट, युनाइटेड अरब इमिरेट र इथोपिया पनि ब्रिक्समा जोडिने छन् । ४० भन्दा बढी राष्ट्रहरूले ब्रिक्समा आबद्ध हुन इच्छा प्रकट गरेको थिए भने २३ राष्ट्रहरूले औपचारिक रुपमा नै निवेदन दिएका थिए ।
यसैबीच सम्मेलनको समापन सत्रमा भिडियो लिंकमार्फत रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सहभागी राष्ट्रहरू सबैलाई धन्यवाद दिए । त्यसैगरी चिनियाँ राष्ट्रपति सी जिङ पिङले चीनले सुरु गर्न लागेको दश मिलियन डलरको ‘ग्लोबल डेभलपमेन्ट इनिसियसनको’ उद्घोष गरे ।
त्यसैगरी बंगगलादेशी प्रधानमन्त्री सेख हसिनाले ब्रिक्सले बंगलादेशको प्रगतिमा नयाँ आयाम थपिदिएको बताइन् ।