सिआइबीले बुझायो ललिता निवास प्रकरणको अनुसन्धान प्रतिवेदन
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणको अनुसन्धान प्रतिवेदन आज जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।
जिल्ला न्यायाधिवक्ता महेश खत्रीले ललिता निवासको संगठित र कीर्ते मुद्दामा सीआईबीले अनुसन्धान प्रतिवेदनसहित सक्कल र नक्कल फाइलहरु जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको बताए । उनले मिसिल अध्ययन भएपछि अभियोजन कार्य अघि बढ्ने बताए ।
अउँदो आइतबार उक्त प्रकरण्को मुद्दा अदालतमा पेश हुनुपर्छ ।
सीआईबीले गरेको अनुसन्धानमा २०४९ देखि २०७९ सालसम्म पाँच पटक गरी बालुवाटारस्थित ललिता निवासको १४३ रोपनी सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको खुलेको छ ।
उक्त जगग प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, डा बाबुराम भट्टराई, पूर्वमन्त्रीहरु विजयकुमार गच्छदार, चन्द्रदेव जोशी, डम्बर श्रेष्ठ, पूर्वसचिव लिलामणि पौड्याललगायतको नाम पनि मुछिएको छ । उनीहरुसँग प्रहरीले बयान समेत लिएको छ ।
उक्त मुद्दामा हाल १८ जना हिरासतमा छन् भने सचिव कृष्णबहादुर राउतसहितका केही व्यक्तिलाई हिरासत बाहिर राखेर अनुसन्धान भइरहेको छ ।