चिकित्सा शिक्षा विधेयक पारित भयो, राष्ट्रपतिले प्रमाणित गरेपछि ऐन बन्दै |
काठमाडौं । सरकारले ल्याएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ राष्ट्रिय सभाबाट पनि पारित भएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूको विरोधका बाबजुद उक्त विधेयक पारित भएको हो । प्रतिनिधिसभाबाट सन्देससहित राष्ट्रियसभामा पठाइएको सो विधेयक बहुमतले पारित भएको हो ।
प्रतिनिधिसभा र राष्ट्रियसभाले पारित गरेको उक्त विधेयक अब राष्ट्रपतिले प्रमाणित गरेपछि ऐन बनेर लागू हुनेछ ।
राजपा सांसद वृषेशचन्द्र लाल र नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीसहितका सांसदहरूले उक्त विधेयकमाथि राष्ट्रियसभामा दुईवटा संशोधन प्रस्तावसमेत दर्ता गरेका थिए । संशोधन प्रस्तावमाथि छलफल गर्दै राजपा सांसद लालले उक्त विधेयक थप छलफलका लागि विधायन समितिमा पठाउन माग गरे । अर्का संशोधन प्रस्ताव दर्ता गर्ने सांसद अधिकारीले भने छलफलमा भाग नै लिएनन् । तर, ती दुवै प्रस्ताव राष्ट्रियसभामा बहुमतले अस्वीकृत भएका थिए ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सो प्रस्तावका बारेमा जवाफ दिँदै प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य समितिमा पर्याप्त छलफल भइसकेकाले उक्त विधेयक पारित गराउन ढिला भइसकेकाले थप छलफल गर्ने समय नभएको बताएका थिए ।
कांग्रेसको विरोध
राष्ट्रियसभाको बैठक शुरू हुनेबित्तिकै नेपाली कांग्रेसका सांसद जितेन्द्र देवले समय लिएर बोल्दै डा. गोविन्द केसीसँग वार्ता गर्न आग्रह गरेका थिए । उनले प्रतिनिधिसभाभन्दा राष्ट्रियसभा परिपक्व भएकाले चिकित्सा शिक्षा विधेयकलाई परिमार्जन गर्नुपर्ने बताएका थिए । उनले विधेयकलाई विधायन समितिमा पठाउन माग गरेका थिए ।
सांसद देवले आफ्नो भनाइ टुंग्याउनासाथ कांग्रेस सांसदहरूले सिटबाट उठेर विरोध जनाएका थिए । तर, अध्यक्ष गणेश तिमिल्सिनाले सभाको कारबाही अगाडि बढाए । कांग्रेस सांसद अधिकारीले विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराएको भए पनि छलफलमा भाग लिएनन् । राष्ट्रियसभाको आजको बैठकभरि कांग्रेसका सांसदहरूले उभिएरै विरोध जनाइरहेका थिए ।