हिमालयन ८०–२० को इकाईका लागि आवेदन दिने म्याद थप, , अब कहिलेसम्म भर्न पाइन्छ ?
काठमाडौं । ‘हिमालयन ८०–२०’ मा आवेदन दिने समय लम्बिएको छ । अब यसमा भदौ १५ गतेसम्म आवेदन दिन सकिनेछ । यसअघि यो फन्डमा पहिलो चरणमा भदौ ४ गतेसम्म आवेदन दिन सकिने भनिएको थियो । तर, सो समयमा माग अनुसारको आवेदन नपरेपछि आवेदन दिने समय लम्बिएको हो । यता, हिमालयन क्यापिटलले थप गरिएको समय अगावै मागभन्दा बढी आवेदन परेमा बन्द गरिने पनि जनाएको छ ।
हिमालयन क्यापिटलले साउन ३२ गतेदेखि बन्दमुखी म्युचुअल फन्ड योजना ‘हिमालयन ८०–२०’ को बिक्री खुला गरेको हो । क्यापिटलले हिमालयन ८०–२० को कुल १ अर्ब रुपैयाँको १० करोड इकाई बिक्री खुला गरेको हो । यसमध्ये १ करोड ५० लाख इकाई वा कुल बिक्री भएको इकाईको १५% कोष प्रवर्द्धक हिमालयन बैंकलाई सुरक्षित गरिएको छ । बाँकी ८ करोड ५० लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
यो म्युचुअल फन्डमा प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन सकिनेछ । यसमा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईका लागि आवेदन दिन सकिनेछ । यो म्युचुअल फन्डमा आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर एपमार्फत अनलाइन आवेदन दिन सकिन्छ । हिमालयन क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो पहिलो म्युचुअल फन्ड योजना हो । यस योजनाको परिवक्व हुने अवधि १० वर्ष रहेको छ ।