मेलम्ची छाड्ने ठेकेदारको २ अर्ब ९ करोड धरौटी केन्द्रीय ट्रेजरीमा तानियो |
काठमाडौं । मेलम्ची खानेपानी आयोजना निर्माणको जिम्मा पाएको इटालियन ठेकेदार कम्पनीको बिभिन्न शीर्षकका धरौटी रकमहरु सरकारको केन्द्रीय ट्रेजरीमा तानिएको छ । उक्त ट्रेजरीमा खिचिने रकम हाललाई २ अर्ब ९ करोड ९ लाख ७० हजार ८४९ रुपैयाँ हुनेछ ।
एभरेष्ट बैंकको सिंहदरबार शाखामा रहेको नेपाल सरकारको सिङ्गल ट्रेजरी खातामा बुधबारसम्म करिब २० करोड नेपाली रुपैयाँ जम्मा भईसकेको छ । मेलम्ची खानेपानी विकास समितिका अनुसार स्ट्याण्डर्ड चार्टर्ड बैंकको ग्यारेन्टीमा रहेको धरौटी नेपाली रकम ३ करोड ४१ लाख ९४ हजार र नेपाल इन्भेष्टमेन्ट बैंकको १६ करोड ४७ लाख १० हजार रुपैयाँ खातामा जम्मा भईसकेको छ ।
बुधबार मात्रै स्ट्याण्डर्ड चार्टर्ड बैंक लण्डन शाखाबाट प्राप्त ६६ लाख २३ हजार यूरो सरकारी ट्रेजरीमा जम्मा हुने प्रक्रियामा रहेको बताइएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक जमानी बसेको धेरै रकम भने खातामा जान बाँकी छ ।
इटालियन ठेकदार कम्पनी सिएमसीले ठेक्का सम्झौता गर्दा स्ट्याण्डर्ड चार्टर्ड बैंक नयाँ बानेश्वर शाखा र नेपाल इन्भेष्टमेन्ट बैंकको दरबारमार्ग शाखा मार्फत धरौटी कबोलको विवरण आयोजना विकास समितिमा बुझाएका थिए ।
गत महिना ३१ डिसेम्बर भन्दा २८ दिन अगाडी ठेकदार कम्पनीले उक्त ग्यारेन्टी नविकरण गर्नुपर्ने थियो तर सीएमसीले बिना जानकारी कार्य क्षेत्र छोडेपछि आयोजनाले उक्त रकम जफत प्रक्रिया थालेको थियो ।
विकास समितिका अनुसार स्ट्याण्डर्ड चार्टर्डको ७३ लाख ७३ हजार यूरो र ३ करोड ४१ लाख ९४ हजार नेपाली रुपैयाँ तथा नेपाल इन्भेष्टमेन्ट बैंकको २६ लाख ८ हजार यूरो, ५५ लाख ५३ हजार अमेरिकी डलर तथा १६ करोड ४७ लाख १० हजार नेपाली रुपैयाँ धरौटी दायीत्व रहेको थियो ।