‘देश डिजिटल नेपालतर्फ अगाडि बढिसक्यो’ | अब सरकारी चारवटै च्यानलहरू एचडीमा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक डिजिटल नेपाल, इ गभर्नेन्स र पेपरलेस टेक्नोलोजीमा अगाडि बढिसकेको बताएका छन् । नेपाल टेलिभिजनको ३४ औँ वार्षिकोत्सवका अवसरमा सो टेलिभिजनको चारै वटा च्यानलको हाइ डिफिनेसन (एचडी) रुपान्तरणको शुभारम्म गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन ।
अब कृषि, उद्योग, व्यापार, पर्यटन, पूर्वाधार, उर्जा, शिक्षा र स्वास्थ्यलगायत क्षेत्रमा नेपाललाई आधुनिकीकरणमा प्रवेश गराउनु पर्नेमा उनले जोड दिए । नेपाल हरेक क्षेत्रमा हरेक दिन आधुनिकतासँगै एक कदम अगाडि बढिरहेको बताउदै प्रधानमन्त्री ओलीले भने, ʽहासिल गरेका उपलब्धिका जगमा आर्थिक समृद्धि, सुशासन र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षाका साथ अघि बढिरहेका छौँ । हामी सबै आधुनिक नेपालको दौडमा अघि बढ्न सकौँ ।ʼ
अन्य टेलिभिजनभन्दा नेपाल टेलिभिजनमा केही फरक दायित्व भएको उल्लेख गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले भने, ʽयो सरकारी संस्था नभई राष्ट्रको टेलिभिजन, जनताको टेलिभिजन हो । नेपाल टेलिभिजनमा कुनै सरकारी हस्तक्षेप छैन । सरकारकै विरोधमा सामग्री प्रसारण हुँदा पनि सरकारले केही भनेको छैन । यो संस्था बनाउने कार्यरत कर्मचारी र पत्रकारको हो । सरकारले सँधै सहयोग गर्दै आएको छ ।ʼ
मन्त्री बाँस्कोटाले अबको छ महीनापछि सार्वजनिक प्रसारण संस्था (पीएसबी) मा जानुपर्ने बताए । रेडियो नेपाल र नेपाल टेलिभिजनलाई गाभेर पीएसबीमा लान कानूनी प्रबन्ध हुन बाँकी छ ।
टेलिभिजनका अध्यक्ष डा महेन्द्र विष्टले टेलिभिजनको समाचार कक्षलाई स्वतन्त्र बनाई व्यावसायिक बनाउन राष्ट्रको आकाङ्क्षालाई सम्बोधन गर्ने र जनताकेन्द्रित मार्गदर्शन दिइएको बताए । उनले सञ्चार क्षेत्र आलोचक हुनुपर्ने भए पनि अब नकारात्मक भइरहनुपर्ने अवस्था नरहेको बताए ।
आजदेखि नेपाल टेलिभिजन, एनटिभी प्लस, एनटिभी न्यूज र एनटिभी कोहलपुर आजदेखि एकै पटक एचडी प्रविधिमा रुपान्तरण भएको हो । विकासका लागि सञ्चारको नाराका साथ विसं. २०४१ मा नेपाली टेलिभिजनको इतिहासमै पहिलो नेपाल टेलिभिजन स्थापना भएको थियो । यो अहिले भूसतही माध्यमबाट ५२ प्रतिशत भूगोल र ७२ प्रतिशत जनसंख्याको पहुँचमा पुगेको छ ।
उत्कृष्ट छनौट भएका विज्ञापनदाता सम्मानित
विज्ञापन एजेन्सीतर्फ उत्कृष्ट कारोवार गर्ने मिडिया हब प्रालि, कि एड्भर्डटाइजिङ सर्भिस प्रालि र एस्पो मिडिया प्रालिका प्रतिनिधिलाई सञ्चारमन्त्री बाँस्कोटाले सम्मान प्रदान गरे । यसैगरी हास्य शृखंलाका कलाकार मरीचमान श्रेष्ठ, राजु पौडेल, दमन रुपाखेतीलगायत कलाकारलाई सम्मान गरियो ।
टेलिभिजनको पहिलो प्रतीकचिह्न बनाउने दीपककुमार जोशीलाई र लामो समयसम्म चलेको कार्यक्रम विम्ब प्रतिविम्बका सञ्चालक गोपाल थापालाई पनि सम्मान गरियो । त्यस्तै नौ स्थानीय समाचारदाता र दीर्घ सेवा २८ जनालाई पुरस्कार घोषणा गरियो ।