ब्रोकरले शेयर विक्री आदेशमा अग्रिम रकम लिन नपाउने, नेप्सेले दियो निर्देशन |
काठमाडौं । ब्रोकरले शेयर विक्री आदेशमा अग्रिम रकम लिन नपाउने भएका छन् । नेपाल स्टक एक्सचेञ्च (नेप्से) ले लगानीकर्ताहरुबाट शेयर विक्री आदेशमा अग्रिम रकम नलिन ब्रोकरहरुलाई निर्देशन दिएको छ । केही शेयर दलाल कम्पनीहरुले शेयर विक्री आदेशमा समेत लगानीकर्ताबाट अग्रिम रकम लिएको पाइएपछि नेप्सेले यस्तो निर्देशन दिएको हो ।
नेप्सेले ब्रोकरहरुले विक्री आदेशमा समेत अग्रिम रकम लिएर कानून विपरित काम गरेको उल्लेख गरेको छ । धितोपत्र कारोबार सञ्चालन विनियमावली २०७५ मा शेयर खरिद आदेश लिँदा मात्र अग्रिम रकम लिन पाइने व्यवस्था रहेको छ ।
विनियमावलीको विनियम ८ (१) मा कारोबार सदस्यले खरिद आदेश प्राप्त गर्दा सो आदेश कार्यान्वयन हुँदा कायम हुने अनुमानित रकमको कम्तीमा २५ प्रतिशत रकम सम्बन्धित आदेश दिने ग्राहकबाट अग्रिम रुपमा लिनुपर्नेछ भन्ने व्यवस्था रहेको छ ।
तर केहि ब्रोकरहरुले खरिद आदेशसँगै विक्री आदेशमा पनि लगानीकर्ताबाट २५ प्रतिशत अग्रिम रकम लिएको पाइएपछि सो कार्य नगर्न नेप्सेले निर्देशन दिएको हो ।