युनिलिभर नेपालको खुद नाफा १८.६८ प्रतिशतले बढ्यो
काठमाडौं । युनिलिभर नेपालले गत आर्थिक वर्षको अन्त्यसम्ममा १ अर्ब ८३ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको भन्दा १८.६८% धेरै हो । अघिल्लो वर्ष यसै अवधिमा कम्पनीले १ अर्ब ५४ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीले यस अवधिमा सञ्चालन आम्दानी र अन्य आम्दानी दुवै वृद्धि गरेपछि खुद नाफामा सुधार भएको हो ।
यसले सञ्चालन आम्दानी १५.६४% ले वृद्धि गरेर ८ अर्ब ४८ करोड रुपैयाँ पुर्याएको छ । यस्तै, अन्य आम्दानी पनि ५८.९५% ले बढेर १९ करोड ३६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष सञ्चालन आम्दानी ७ अर्ब ३३ करोड रुपैयाँ र अन्य आम्दानी १२ करोड १८ लाख रुपैयाँ रहेको थियो । हाल युनिलिभरको सेयर पुँजी ९ करोड २१ लाख रुपैयाँ छ । यसको रिटेन्ड अर्निङमा ४ अर्ब २६ करोड ६५ लाख रुपैयाँ जम्मा भएको छ ।
अघिल्लो वर्ष यसै अवधिमा रिटेन्ड अर्निङ ३ अर्ब ५६ करोड रुपैयाँ रहेको थियो । यता, खुद नाफा बढेपछि कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ । अघिल्लो वर्ष १ हजार ६७५ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी बढेर गत असार मसान्तसम्म १ हजार ९८८ रुपैयाँ (वार्षिक) पुगेको छ । प्रतिसेयर नेटवर्थ पनि ३ हजार ९६७ रुपैयाँबाट बढेर ४ हजार ७३४ रुपैयाँ कायम भएको छ ।