प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगे बालेन
काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साह र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । लामो समयदेखि संघीय सरकारसँग असन्तुष्ट रहँदै आएका मेयर बालेनले सिंहदरबारमा पुगेर प्रधानमन्त्रीसँग छलफल गरेका हुन् ।
सरकारका केही मन्त्रीहरूसमेत सहभागी उक्त छलफल काठमाडौँको सुकुम्बासी समस्या र तीनकुनेको जग्गा मुआब्जाका विषयमा छलफल भएको बताइएको छ ।
हालैमात्र बालेनले प्रधानमन्त्री दाहालसँग भेटेर यी दुई समस्यालाई सहजीकरण गर्न सरकारसँग आग्रह गरेका थिए । त्यसपछि प्रधानमन्त्रीले सरोकारवाला मन्त्रीहरूलाई समेत बोलाएर बैठक राखेका हुन् ।
बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री, भूमिसुधार मन्त्री, सामान्य प्रशासनमन्त्री, सहरी विकास मन्त्री तथा ती मन्त्रालयका सचिवहरूको सहभागिता थियो ।
बैठकमा महानगरका तर्फबाट मेयर र प्रमुख प्रशासकीय अधिकृतसहित ३२ नम्बर वडाका वडाध्यक्ष पनि सहभागी थिए । बैठक करिब डेढ घण्टा चलेको थियो ।