नागरिकता विधेयक फिर्ता लिन ज्ञापनपत्र | शक्तिशाली छनबिन आयोग गठन गरेर मात्र विधेयक अगाडि बढाउन पुष्पलाल अध्ययन समाजको माग
काठमाडौं । पुष्पलाल अध्ययन समाजले नागरिकतासम्बन्धी विधेयक फिर्ता लिन माग गरेको छ । समाजले उक्त विधेयक फिर्ता लिन माग गर्दै आज बुधवार सभामुख कृष्णबहादुर महरालाई ज्ञापनपत्रसमेत बुझाएको छ । ज्ञापनपत्रमा नक्कली नागरिकता कति छ भन्ने यकिन नभएसम्म उक्त विधेयक अगाडि नबढाउन माग गरिएको समाजले जानकारी दिएको छ ।
समाजका अध्यक्ष लोककृष्ण भट्टराईले नागरिकता छानबिन गर्न शक्तिशाली आयोग गठन गर्नुपर्ने र हालको नागरिकता विधेयक फिर्ता लिनुपर्ने भन्दै सभामुखलाई ज्ञापनपत्र बुझाइएको जानकारी दिए ।
उक्त समूहकै साध्यबहादुर भण्डारीले ४ सय विदेशीलाई नक्कली नागरिकता दिएको आफूसँग प्रमाण भएको बताए । उनले नक्कली नागरिकता यकिन नगरेसम्म नागरिकता विधेयक रोक्न माग गरे । उनले भने, ‘नेपाली चेलीको भारतीय केटासँग विवाह हुँदा नेपालीले नागरिकता दाइजो दिन्छन् ।’
वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्कीले भारतीयलाई नागरिकता दिँदा विदेशी बहुमतमा पर्ने र नेपाली अल्पमतमा पर्ने स्थिति आउने दाबी गरे ।
ज्ञापनपत्र बुझ्दै सभामुख महराले विधेयक फिर्ता लिने विषय सरकारको भएको बताए । उनले भने, ‘विधेयक नै फिर्ता गर्ने मैले होइन, सरकारले हो ।’