कोसी ब्यारेजमा ३४ वर्षयताकै उच्च बहाव, ५६ वटै ढोका खोलियो
विराटनगर । सुनसरी र सप्तरीको सीमानास्थित कोसी ब्यारेजमा पानीको बहाव ४ लाख ६२ हजार ३४५ क्यूसेक मापन भएको छ । यो ३४ वर्षयताको उच्च बहाव मापन रहेको जनाइएको छ ।
१ हजार १७५ मिटर लामो ब्यारेजमा पानीको बहाव उच्च भएपछि पानी बगाइने सम्पूर्ण ५६ वटै ढोका खोलिएका छन् ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार सोमबार बिहान करिब २ बजेदेखि कोसी ब्यारेजमा पानीको बहाव उच्च खतराको अवस्थामा पुगेको छ । बिहान करिब ४ बजे प्रतिसकेण्ड ४ लाख ६२ हजार ३ सय ४५ क्युेसेक पानी ब्यारेजबाट बगेको प्रजिअ पाण्डेले जानकारी दिइन् । कोसी नदी बेसिनमा सातवटा अन्य नदी बेसिन रहेका छन् ।
पहाडी र हिमाली क्षेत्रमा पानी धेरै परेका कारण नदीहरुमा पानीको बहाव बढ्दा सप्तकोसी नदीमा पानीको उच्च बहाव मापन भएको हो । कोसीमा उच्च बहाव देखिएपछि तटीय क्षेत्रमा सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले सचेत गराएको छ ।
कोशी ब्यारेजबाट सन् १९८९ मा प्रतिसेकेण्ड ४ लाख ७२ हजार क्युसेक पानी बगेको रेकर्ड छ । यसैलाई अहिलेसम्मको उच्च बहाव कायम गरिएको छ ।
सन् १९५४ अप्रिल २५ मा भएको विवादित कोसी सम्झौतापछि निर्माण गरिएर सन् १९६४ देखि सञ्चालनमा आएको कोसी ब्यारेजको आयू २५ वर्षका लागि भनिएको थियो । तर अहिले यो ब्यारेज आफ्नो आयूभन्दा तीनगुणा बढी टिकिसकेको छ ।
कोसी ब्यारेजमा निर्माणताकाको पानीको बहावको क्षमता प्रति सेकेण्ड १२ लाख क्यूसेक थियो । तर ब्यारेज जिर्ण भएका कारण नियमित मर्मत सम्भारका वावजुद अहिले प्रति सेकेण्ड ६ लाख क्यूसेक पानी बग्ने क्षमतामा रहेको छ ।
जीर्ण अवस्थामा रहेको ब्यारेजमा पानीको उच्च बहावले जोखिम बढाएको भन्दै ब्यारेजबाट हुने सवारी आवागमन बन्द गरिएको छ । सोमबार बिहानैदेखि पूर्व–पश्चिम महेन्द्र राजमार्गमा गुड्ने सयौं सवारी साधन रोकिएका छन् । लामो दुरीका सवारी साधनहरु रोकिंदा यात्रुहरु बिचल्ली परेका छन् ।