कोटेश्वर–कलङ्की सडक हस्तान्तरण |
काठमाडौं । चीन सरकारले निर्माण सम्पन्न गरेकोे कोटेश्वर–कलङ्की सडक नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । खुमलटारस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालयमा हिजो आयोजित ‘चिनियाँ सहयोगमा निर्माण भएको काठमाडौँ चक्रपथ सुधार परियोजना हस्तान्तरण कार्यक्रम’ मा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालका लागि चीनका राजदूत हउ याङ्चीले साँचो दिँदै सो सडक हस्तान्तरण गरिन ।
कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपाल र चीनबीच समस्यारहित र अनुपम सम्बन्ध रहेको बताए । उनले भने, ʽसडक, कृषि, शिक्षा, स्वास्थ्यलगायतका धेरै क्षेत्रमा चीन सरकारले नेपाललाई सहयोग गर्दै आएको छ ।ʼ
चक्रपथको पहिलो खण्डमा देखिएको समस्या कलङ्की– महाराजगञ्ज सडक (दोस्रो खण्ड) मा दोहोरिइन नदिने उनले प्रतिवद्धता जनाए । खानेपानीको पाइप, बिजुलीको खम्बालगायत सडक निर्माणमा अवरोध भए समयमा नै हटाएर काम सञ्चालन गर्न दिन प्रधानमन्त्रीले सबै मन्त्रालय र विभागलाई निर्देशन दिए ।
नेपालका लागि चिनियाँ राजदूत हउले निर्माण सम्पन्न भएको सडकबाट नेपाल चीनबीच सुमधुर सम्बन्ध रहेको प्रमाणित गरेको बताए । यो सडकले चीनको नै सहयोगमा निर्माण भएको अरनिको राजमार्ग र पृथ्वी राजमार्गलाई जोडेको उहाँले उल्लेख गरे । नेपाल र चीनका बीचमा मित्रवत सम्बन्ध अझै बलियो बन्दै गएको पनि उनले बताए ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसूदन अधिकारीले सबै पक्षको सहयोगका कारण सडक निर्माण सम्पन्न भएको बताए ।
सडक विभागका महानिर्देशक रवीन्द्रनाथ श्रेष्ठले चक्रपथको दोस्रो चरणको काम चाँडो शुरु हुने जानकारी दिएका थिए । पाँच वर्ष पहिले निर्माण शुरु भएको यो सडकको निर्माण गत महीना सम्पन्न भएको थियो ।