नेपाल लाइफको तीन दिवसीय ‘लिडरसीप एक्सिलेन्स अर्वाड, २०२३’ भव्यतापूर्वक सम्पन्न
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तीन दिवसीय लिडरसीप एक्सेलेन्स अवार्ड २०२३ भव्यतापूर्वक सम्पन्न गरेको छ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफले ‘सार्क वर्ष ः पराक्रमी गति, आक्रामक नीति’ नाराका साथ कार्यक्रम सम्पन्न गरेको हो ।
चितवनको सोल्टी वेस्टइन्ड रिसोर्टमा साउन १७ देखि १९ गतेसम्म भएको कार्यक्रममा देशभरिबाट उत्कृष्ट व्यवसाय गर्ने १३० भन्दा बढी एजेन्सी तथा एजेन्सी मेनेजरहरूको सहभागिता रहेको थियो ।
कम्पनीका वरिष्ठ सञ्चालक कमलेशकुमार अग्रवाल, सञ्चालक विमल ढकाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीणरमण पराजुलीले संयुक्त रूपमा पानसमा दीप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गरेका थिए ।
कार्यक्रममा बोल्दै कम्पनीका वरिष्ठ सञ्चालक कमलेशकुमार अग्रवालले देश आर्थिक मन्दीबाट गुज्रीरहेको समयमा पनि कम्पनीले गरेको व्यवसाय उत्साहप्रद रहेको र यसलाई मूर्तता प्रदान गर्न अहोरात्र खटिने सम्पूर्ण प्रगतिका सहयात्रीहरूलाई धन्यवाद दिएका थिए ।
नेपाल लाइफ आफैंमा जीवन बीमा क्षेत्रमा गौरवशाली इतिहास बोकेको स्थापित ब्रान्ड रहेको र यससँग जोडिन पाएकोमा सवैको लागि हर्षको विषय रहेको उनको भनाइ थियो ।
पराक्रमी गति आक्रामक नीति नारासहित सार्क वर्षको अवधारणालाई आत्मसाथ गर्दै कम्पनी अगाडि बढेको देख्दा मन प्रफुल्लित भएको उनले बताए । ‘जसरी सार्कले समुन्द्रमा अधिपति कायम गरेको हुन्छ, त्यसै गरी नेपाल लाइफले जीवन बीमा क्षेत्रमा अधिपति कायम गर्नेमा म विश्वस्त छु’ उनले भने ।
ग्राहकको सहजताका निम्ति नवीनतम् प्रविधिको अधिकतम प्रयोग, लगानीको उच्च प्रतिफलका लागि लगानीको विविधीकरण गर्ने कार्यहरू शुभारम्भ भइसकेको समेत उनले जानकारी दिए ।
कार्यक्रममा बोल्दै सञ्चालक विमलप्रसाद ढकालले यस कम्पनीका बीमा अभिकर्ताहरूले बीमालाई नेपालीको घरदैलोमा पुर्याउन गरेको योगदानका निम्ति धन्यवाद दिए । आव २०७९/८० मा उत्कृष्ट व्यवसाय गर्दै सम्मानित भएका सम्पूर्ण बीमा अभिकर्ताहरूलाई बधाई दिँदै उनले आगामी दिनमा सफलताको शुभकामना व्यक्त गरे ।
कार्यक्रममा बोल्दै आगामी दिनमा व्यवसाय गर्दा नियमनकारी निकायद्वारा जारी गरिएका नीतिनियमको अधिनमा रही व्यवसाय गर्न सबैलाई उनले आग्रह गरेका थिए ।
यस्तै, कम्पनीका सीईओ पराजुलीले सम्मानित भएका अभिकर्तालाई बधाई तथा शुभकामना दिँदै कम्पनीको मेरुदण्ड भनेकै अभिकर्ता साथीहरू रहेको बताए । साथै उनले अभिकर्ताहरूकै अथक मेहनत र परिश्रमका कारण नेपाल लाइफ सफल भएको बताए ।
आगामी दिनमा झन् बलियो र सबल भएर बजारमा प्रस्तुत हुन पनि उनले स्वेच्छा दिए ।
कार्यक्रममा एजेन्सी मेनेजर तर्फबाट उत्कृष्ट ५० र व्यक्तिगत कोड तर्फबाट उत्कृष्ट ८१ अभिकर्ताहरूलाई सम्मान गरिएको थियो । कार्यक्रममा सम्मानको साथ साथै २० जनालाई सम्राट पदक, २३ जनालाई रत्न पदक र ६३ जनालाई समृद्धि पदकबाट विभूषित गरिएको थियो ।
त्यस्तै एजेन्सी मेनेजर तर्फबाट क्रमशः प्रथम, द्वितीय र तृतीय हुने बसन्ती शर्मा, मदन भट्ट र स्नेहा भट्ट तथा व्यक्तिगत कोड तर्फबाट क्रमशः प्रथम, द्वितीय र तृतीय हुने खुशी भट्ट, शान्ता राजबंशी, भीमा पन्थीलाई अवार्डको साथै नगद पुरस्कार पनि प्रदान गरिएको थियो ।